घट्यो प्राधिकरणको नाफा, आईपीओ जारी गर्दै
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७८/७९ को तुलनामा ०७९/८० को नाफा घटेको जानकारी दिएका हुन्।
आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो।
गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको सतह घट्दा प्राधिकरण र नीजी क्षेत्रको विद्युत उत्पादनमा ह्रास आउँदा नाफा घटेको घिसिङको तर्क छ।
प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष ७८/७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष ७९/८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ।
यस्तै प्राधिकरणले आईपीओ निष्कासनको प्रक्रियासमेत सुरू गरेको छ। त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन्।
विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङले जानकारी दिए। उनले प्राधिकरणको सम्पत्ति मूल्याङ्कन कार्य पनि सकिएको बताएका छन्।
साउन २५, २०८० बिहीबार १६:३२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।