त्रिभुवनले स्कुललाई दान दिएको जग्गा नेपाल ट्रस्टले वीरेन्द्रको सम्पत्ति भन्दै खोस्यो
काठमाडौँ : २०६६ माघ १९ गते फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा जग्गाको भाडा तिर्न आदेश दिँदै नेपाल ट्रस्टबाट पत्र आयो। त्यो पत्र देखेर विद्यालय व्यवस्थापन समिति झस्कियो।
२००८ सालमै तत्कालीन राजा त्रिभुवनबाट विद्यालयले दानमा पाएको थियो जग्गा। दान दिएसँगै त्रिभुवनले उच्च पदाधिकारीसहित स्थानीय जनता राखेर विद्यालयको उद्घाटन गरे। धुमधामका साथ आफ्नो जन्मोत्सव मनाए।
पूर्वराजा वीरेन्द्रको वंशनास भएपछि उनीहरूको परिवारको सम्पत्ति संरक्षण गर्न भनेर नेपाल ट्रस्ट स्थापना भएको थियो। ५८ वर्षपछि दान दिएको जग्गा उनको नाति (वीरेन्द्र)को नाममा भएको भनेर ट्रस्टले पत्र पठायो।
‘राजाले जन्मोत्सवमा दिएको, जनता र उच्चपदस्त पदाधिकारीहरू रहेर उद्घाटन गरेको स्कुल पूर्जा हाम्रो (विद्यालय)को नाममा आयो कि आएन भनेर हामीले खोज्ने चाहना राख्ने कुरा पनि भएन,’ विद्यालयका पूर्वविद्यार्थी शशी शर्मा भन्छन्, ‘राजा वीरेन्द्रको नाममा छ भनेर हामीले कुनै प्रमाण फेला पारेका छैनौँ। कसरी उनको नाममा गयो भनेर पनि पत्ता लगाउन सकेनौँ।’
तर, जुन दिनदेखि विद्यालयले यसबारे थाहा पायो, त्यस दिनदेखि विभिन्न निकायमा सहजीकरणका लागि पहल गरिरहेको छ।
शशी यस विद्यालयका पूर्वविद्यार्थीसँगै पूर्वशिक्षक पनि हुन्। उनका बुवा गिर्वाणनाथ अर्याल पनि यही विद्यालयमा पढाउँथे। त्यही भएर पनि यस विद्यालयप्रति उनको लगाव बढी नै देखिन्छ। विद्यालयका हरेक कार्यक्रममा उनको अहिले पनि उत्तिकै सक्रियता देखिन्छ।
विद्यालयको जग्गा वीरेन्द्रको नाममा छ भनेर थाहा पाएसँगै व्यवस्थापन समितिको टोलीसहित शशी भूमिसुधार मन्त्रालय गए। तर प्रमाण फेला परेन।
‘मलाई त अचम्म नै लाग्यो के। हामीले बुझ्दै गयौँ। भूमिसुधार मन्त्रालयमा गएर कुरा गर्दा त तपाईं त्यही बेलाको गाविस अध्यक्ष भन्नुहुन्छ। सिफारिस त दिनुभयो होला नि भन्नुभयो,’, उनी भन्छन्, ‘कहाँ दिनु सिफारिस! सिफारिस दिएको भए त यसरी बुझ्न आइन्छ र! भनेँ। त्यसो भए खोज्नपर्यो यो विषय भनेर मालपोत पनि गयौँ। त्यहाँ जाँदा कलंकीमा द्वन्द्वको बेलामा जलेको हुनाले त्यो फेला पर्न सकेन भन्ने कुरा आयो।’
के गरिरहेको छ विद्यालय व्यवस्थापन समिति ?
अहिलेसम्म वीरेन्द्रको नाममा जग्गा भएको र भएको भए कसरी भएको? भन्ने प्रश्नको उत्तर शशीसहित विद्यालय व्यवस्थापनका पदाधिकारीहरूले खोजिरहेका छन्।
प्रजातन्त्र सुरू भएसँगै स्थापना भएको नेपालकै पहिलो ‘बोर्डिङ स्कुल’को विद्यालय व्यवस्थापनको अध्यक्ष पनि दरबारले नै सिफारिस गर्थ्यो। तर, दुई कार्यकालदेखि भने यसको नेतृत्वमा पूर्वविद्यार्थी तथा स्थानीय बुद्धनारायण मानन्धर छन्।
विद्यार्थी हुँदादेखि नै नजिकबाट विद्यालयको अवस्था नियाल्न पाएका अध्यक्ष मानन्धर जग्गामा विवाद हुनु नपर्ने बताउँछन्।
‘मैले सानैदेखि देख्दै आएको हो। विवाद हुनुपर्छ जस्तो लाग्दैन। विवाद हुने त्यस्तो केही कारण थिएन। यो स्कुलकै जग्गा हो। त्यही भएर यसलाई विवादको रूपमा नलिएर स्कुलकै हो र स्कुलकै हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनी भन्छन्, ‘राजाले दानमा दिएको हामीसँग प्रमाण छ। त्यो बेलाको सरकारको मुख पत्र भनेको गोरखापत्र हो। त्यसमा किटान गरिएरै लेखेको छ। राजाको जन्मदिनमा स्कुललाई आदर्श दान दिएको भनिएको छ। त्यो नै सबैभन्दा ठूलो आधार बनाएर यो जग्गा स्कुलकै हो भन्ने अडानमा छौं।’
कुनै पनि बेला आवश्यक पर्नसक्ने भनेर गोरखापत्रको समाचार विद्यालयको भित्तामा ठूलो पारेर टाँगिएको छ। उनका अनुसार साँच्चिकै जग्गा वीरेन्द्रको नाममा भएको हो त? भनेर बुझ्न विद्यालयका केही प्रतिनिधिहरू मालपोत कार्यालय र नापी विभाग गएका थिए। तर केही फेला परेन।
‘नापीमा फिल्ड बुकमा जग्गा बोर्डिङ घरको नाममा छ। मालपोतमा पनि मोहीको नाममा विद्यालयको नाम र जग्गाधनीको नाममा खाली थियो। पछि राजाको नाममा कसरी गयो थाहा पाउन सकेनौँ। नियतवश वा भूलवश गएको हो कि भन्ने लागिरहेको छ’, उनले भने।
त्यो बेला फोटो भने खिच्न नपाएको उनले बताए। ट्रस्टको स्वामित्वमा विद्यालय गएसँगै यसको भौतिक संरचनामा पनि कुनै निकायले सहयोग गरेको छैन।
विद्यालयको प्रस्ताव गर्दा सहयोग गर्ने भने पनि पछि ट्रस्टको स्वामित्वमा भएको कारण कुनै निकायले सहयोग नगरेको व्यवस्थापन समिति अध्यक्ष मानन्धर बताउँछन्।
‘भूकम्प पुनर्निर्माण प्राधिकरणले पनि हाम्रो भवन बनाउन १० करोड छुट्याएको थियो। तर, पछि ट्रस्टमा गएको रहेछ। ट्रस्टको हामीले बनाउँदैनौँ भन्यो,’ अध्यक्ष मानन्धर भन्छन्, ‘ट्रस्टको नाममा भएको थाहा पाएपछि हामी आफैँ पनि पहल गरेर कुनै पनि काम गर्न सकिरहेका छैनौँ। हामीलाई गाह्रो भइरहेको छ।’
उनका अनुसार ट्रस्टले २०६९ असोज ९ गते पनि पत्र पठाएको थियो। अहिले पनि बेला बेला फोन गरिरहन्छन्।
‘ट्रस्ट आफैँले पनि हामीलाई बेला-बेला दुःख दिन्छ। हामी दुई-तीन पटक त्यहाँ गएको पनि हो। ट्रस्टकै ऐनअनुसार पनि यसको संरक्षण त गरिदिनुपर्ने हो। तर, केही गर्दैन’, उनले भने।
विद्यालयको संरचना निकै पुरानो भएका कारण पुरातत्व विभागले भए पनि त्यसको संरक्षण गरिदियोस् भन्ने विद्यालय व्यवस्थापन समितिको अपेक्षा छ।
जग्गा विवादभन्दा विद्यालयको महत्व बढी भएको उनले बताए। भौतिक संरचनासँगै विद्यालयको अस्तित्व पनि संकटमा पर्न लागेकाले सम्बन्धित निकायले चासो देखाउनुपर्ने उनको भनाइ छ।
बोर्डिङ भनेको निजी हो ?
महालेखा परीक्षकको हरेक वर्षको प्रतिवेदनले शेषनारायणमा रहेको जग्गामा ‘निजी’ विद्यालयले भाडा नतिरेको र त्यसको संरक्षण नगरेको भनेर उल्लेख गरिरहन्छ। त्यसअनुसार विद्यालयको संरक्षणमा ट्रस्टले चासो नदेखाएको कुरा त साँचो हो। तर, यो विद्यालय निजी भने होइन।
कुनै समय सरकारी भनेरै चलिरहेको यस विद्यालय अहिले भने ‘पब्लिक ट्रस्ट’ र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित छ।
नेपालमा प्रजातन्त्र आउने बेला विद्यालय धेरै बनिसकेका थिएनन्। त्यसमा पनि आवासीय भनेर त छँदै थिएन। त्यसैबेला नेपालको पहिलो ‘बोर्डिङ स्कुल’ भनेर यस आवासीय विद्यालयको स्थापना भयो। पछि त्रिभुवनले आदर्श स्वरूप दान दिँदै उद्घाटन गर्ने भएपछि विद्यालयको नाम त्यसै अनुरुप ‘त्रिभुवन आदर्श मावि’ हुन पुग्यो।
अझै पनि धेरैले निजी वा संस्थागत विद्यालयलाई बोर्डिङ भन्ने गरेको हुँदा महालेखा परीक्षकको प्रतिवेदनमा पनि त्यहि त्रुटी हुन गएको हुनसक्ने विद्यालयले जनाएको छ। बोडर्सलाई बोर्डिङ भनिएको र अहिले पनि यहाँको स्थानीयहरूले ‘त्रिभुवन आदर्श’ भन्दा पनि ‘बोर्डिङ घर’ भनेर कुरा गर्ने गरेको पूर्व शिक्षक शशीले बताए।
किन स्थापना गरियो बोर्डिङ ?
शशीका अनुसार प्रजातन्त्रपछि नेपालमा हुनेखानेहरूले आफ्नो छोरा, छोरी कलकत्ता, दार्जिलिङ, पटना लगायतको ठाउँमा पठाउने पठाउँथे। त्यसै बेला आफ्नो नजिकको पात्र सत्यनारायण बहादुर श्रेष्ठलाई एकदम सक्रिय देखेर राजाले मन्त्री पदको प्रस्ताव गरे।
‘तर, उहाँले म शिक्षाको मान्छे, शिक्षाको लागि केही गर्नुपर्छ। सधैँ शिक्षाको लागि बाहिर किन जानु, यदि मिल्छ भने म त्यहाँ स्कुल चलाउँछु। बस्ने सुविधा सहितको बोर्डिङ चलाउँछु भनेर भन्नुभएको रहेछ,’ उनले भने।
त्यस बेला वीपी कोइराला, गणेशमान सिंहलगायत धेरैले पनि विद्यालय स्थापनाको लागि साथ दिएका उनले बताए। पछि नजिकिँदै गरेको जन्मोत्सवमा विद्यालयको उद्घाटन भयो। दरबार नै विद्यालयलाई दान दिइयो। उद्घाटनपछि पनि त्रिभुवनले विद्यालयको लागि पटक-पटक सहयोग गरेको त्यहाँको भित्ताका शिलालेखमा देख्न सकिन्छ।
महेन्द्रले पनि निकै सहयोग गरे
‘प्रजातन्त्र आउनेबित्तिकै यत्तिको स्कुल बन्नु हामी फर्पिङका वासिन्दाहरू कति भाग्यमानी! विभिन्न जिल्लाबाट विभिन्न धर्म, संस्कृति र जातजाति भएका विद्यार्थीहरू सकेसम्म यहि स्कुलमा भर्ना हुन खोज्थे। धेरै बोडस नै हुन्थे। थोरै मात्र स्थानीयले पढ्न पाउँथे’, शशीले भने।
उनका अनुसार त्रिभुवनले मात्र नभएर महेन्द्रले पनि विद्यालयलाई निकै सहयोग गरेका छन्। वार्षिक रूपमा उनी पनि यहाँ आइरहन्थे। हरेक कार्यक्रममा सहभागी हुन्थे।
उनी भन्छन्, ‘२०२३ सालमा राजा महेन्द्रको कार्यक्रम थ्यो। कार्यक्रम सक्किएर फर्किने बेलामा सबै विद्यार्थीहरू गेटमा बिदाइ गर्न बसेका थियौँ। खुशी हुनुभएको कारण तत्कालीन प्रधानाध्यापक प्रेम बहादुर श्रेष्ठलाई राजा महेन्द्रले स्कुललाई के चाहिन्छ भनेर सोध्नुभयो। सरले सरकार भित्रको खेल मैदान सानो भयो। अगाडिको जग्गा पाए देखि म विद्यार्थीलाई राम्रो सँग खेलकुदमा भाग लिन लाउँथे भन्नुभयो। त्यसको केही समयपछि त्यो जग्गा स्कुललाई दिने भयो रे भनेर हामीले सुन्यौं।’
स्थानीयहरूले त्यो जग्गा छोड्न नमाने पनि उनीहरूलाई मुआब्जा दिएर भए पनि महेन्द्रले जग्गा दिएको कारण त्यो भने विद्यालयकै नाममा हुन गएको उनको भनाइ छ।
वीरेन्द्रको नाममा भएपछि विद्यालयको अस्तित्व नै संकटमा
गणतन्त्र स्थापनापछि त्रिभुवनले दानमा दिएको जग्गा र विद्यालय वीरेन्द्रको नाममा कसरी पुग्यो स्थानीयले थाहा पाउन सकेका छैनन्। प्रजातान्त्रिक सरकारले स्थापना गरेको विद्यालयलाई गणतान्त्रिक सरकारले अझ राम्रो बनाउनुपर्नेमा विवादित बनाउनु दुखद् भएको शशी बताउँछन्।
‘गणतन्त्र आएसँगै विद्यालयको नाममा भएको जग्गा राजा वीरेन्द्रको नाममा कसरी गयो? नेपाल ट्रस्टमा कसरी गयो? प्रजातान्त्रिक सरकारले यति राम्रो सोचेर बनाएको विद्यालयलाई गणतन्त्र सरकारले पनि शिक्षाको बारेमा सोचेर सहजीकरण गर्नुपर्थ्यो। यसलाई अझै कसरी राम्रो बनाउने, देशकै नमुना बनाउने भनेर छलफल, बहस हुनुपर्नेमा जग्गाको विवाद ल्याएर बहस हुनु आफैँमा दु:खको कुरा हो’, उनी भन्छन्।
नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ पावर हाउसलाई जीवित संग्रहालय बनाउने योजना बनाएको सरकारले पहिलो बोर्डिङ घरलाई संरक्षण नगरेकोमा अचम्म लागेको बताए।
उनी थप्छन्, ‘नेपालको पहिलो जलविद्युत् फर्पिङ पावर हाउसलाई एक अर्बको बजेटमा जीवित संग्रहालय बनाउने भनेको हामीले समाचार सुन्न पायौं। तर, पहिलो बोर्डिङ घरलाई किन संरक्षण नगर्ने? अहिलेसम्म जे जति भयो-भयो। अब यसलाई राम्रो बनाउनेतर्फ हाम्रो बहस हुन आवश्यक भइसक्यो। नत्र धेरै ढिला हुन्छ। सबै जना जुट्न आवश्यक छ।’
आफैँ त्यसबेला गाविसको अध्यक्ष भएपनि आफूले यस जग्गा सम्बन्धि कुनै पनि सिफारिस नगरेको शशीको दाबी छ।
‘पंचायतको समयमा स्कुलजस्तो कुराको सिफारिस दिने आँट गर्न सकिन्छ? त्यो बेला वीरेन्द्रलाई कसैले उक्सायो या के भयो पत्ता लगाउन गाह्रो भइरहेको छ। अहिले हेर्दाखेरि हामीलाई अचम्म लागेको छ। त्यो हुनै नसक्ने कुरा हो’, उनले भने।
विद्यालयको सहजीकरणको लागि भनेर उनीहरूले शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत गुहारेका छन्।
तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले त विद्यालय अवलोकन गर्न आएको पनि उनले बताए।
उनी भन्छन्, ‘यसलाई नमुनाको रूपमा लान सरकारले केही गर्नुपर्छ भन्नुभयो। पछि उहाँ पदबाट हट्नुभयो।’
विद्यालयले जग्गा वीरेन्द्रको नाममा नभएको बताइरहँदा कसरी गयो ट्रस्टको स्वामित्वमा? ट्रस्ट सँग के प्रमाण छ? अर्को अंकमा।
सम्बन्धित समाचार
साउन २५, २०८० बिहीबार १८:१७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।