अल जजिरा र हिमालयन एयरलाइन्सले उडान रोकेपछि भैरहवा विमानस्थलको बेहाल, ४३ अर्बमा बनेको विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन*

अल जजिरा  र हिमालयन एयरलाइन्सले उडान रोकेपछि भैरहवा विमानस्थलको बेहाल, ४३ अर्बमा बनेको विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन*

बुटवल : देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भार थेग्न नसकेपछि विकल्पमा बनाइएको रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ मा सञ्चालनमा आयो। 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन विमानस्थलको उद्घाटन गरे। कुवेतबाट आएका नेपालीले सीधा आफ्नो क्षेत्रमा उडान भरेर आउँदा खुसी भएको मात्र बताएनन्, निरन्तर उडान हुनुपर्ने पनि बताएका थिए।

विमानस्थल उद्घाटनसँगै यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो। तर विमानस्थल उद्घाटन भएको १ वर्ष बितिसक्दा पनि अहिले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय सीधा उडान हुन सकेको छैन।

राज्यको ४३ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको विमानस्थल अहिले अन्तर्राष्ट्रिय उडानविहीन भएको छ। 

उद्घाटनपछि ७ महिनासम्म जजिराले नियमित उडान गरे पनि हाल उडान र अवतरणको समय तालिका नमिलेपछि उडान स्थगित गरिएको जजिरा एयरलाइन्सका प्रतिनिधीले जानकारी दिएको विमानस्थलका अधिकारी बताउँछन्।  

प्राधिकरण स्रोतका अनुसार जजिराले राति साढे १ बजे अवतरण हुने र साढे २ बजे उड्ने तालिका मागेको थियो। तर रातिको समयमा थप उपकरण र कर्मचारी प्रयोग गर्नुपर्ने भएपछि जजिराको माग तत्काल सम्भव भएन।

रात्रिकालीन उडानका लागि भने मासिक ४० लाखभन्दा बढी खर्च हुने देखिएकाले जजिरालाई प्राधिकरणले रात्रिकालीन उडान अनुमति दिएन। त्यसपछि जजिराले पुसयता उडान गरेको छैन। 

कार्तिक २३ गतेदेखि हिमालय एयरलायन्सले पनि भैरहवा-क्वालालाम्पुर उडान सुरु गरेको थियो। अहिले हिमालयन पनि उडान गरेको छैन। 

भैरहवाबाट जजिरा र हिमालय एयरलायन्सले उडान सुरु गरेपछि अन्य वायुसेवा कम्पनीहरू पनि उडान भर्न आतुर थिए। तर विडम्बना अहिले अन्तर्राष्ट्रिय उडान गरेका दुवै वायुसेवा कम्पनीले उडान स्थगित गरेका छन्। हाल नेपाल एयरलायन्सले मंगलबार मात्र क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान गरेको छ। 

भैरहवा विमानस्थलका प्रवक्ता दीपक कुमार बज्राचार्यले वैशाख ७ देखि जजिराले उडान रोकेको बताउँदै हाल कुनै पनि विमानले तत्काल उडान गर्नेबारे औपचारिक जानकारी नआएको बताए। 

नेपाल एयरलायन्सबाट २३० यात्रु भैरहवा झरे

अहिले भैरहवाबाट सीधा अन्तर्राष्ट्रिय उडान छैन। जुन १३ देखि नेपाल एयरलायन्सले क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान हरेक हप्ताको मंगलबार गर्दै आएको छ।

क्वालालाम्पुरबाट भैरहवा आएको विमानले त्यहाँ यात्रु झारेर काठमाडौं जान्छ। चढ्ने सुविधा भने छैन। जुनदेखि जुलाईसम्म नेपाल एयरलायन्सले ७ वटा उडानमार्फत भैरहवामा मात्र २३० जना यात्रु ओरालेको छ।

प्रवक्ता बज्रचार्यका अनुसार जुनमा १ सय ६ र जुलाईमा १२४ यात्रु विमानस्थलमा ओर्लिएका हुन्। 

हिमालयन र जजिराले कति गरे अन्तर्राष्ट्रिय उडान ? 

दुवै एयरलायन्सले भैरहवाबाट उडान स्थगित गर्नुअघि जजिराले १२६ उडान गरेको थियो भने हिमालयन एयरलायन्सले जम्मा ३४ उडान गरेको थियो। विमानस्थलका प्रवक्ता बज्राचार्यले भैरहवामा जजिराले १२६ उडान गर्दा कुवेतबाट १४ हजार ६८६ यात्रु लिएर आएको र भैरहवाबाट १५ हजार ६५२ यात्रु जजिराले लगेको बताए। 

जजिराले ल्याएका सबै यात्रु श्रम बजारका हुन्। त्यसमा पर्यटकको संख्या भने नगन्य थियो। 

त्यस्तै हिमालयनले ३४ उडान गर्दा क्वालालाम्पुरबाट जम्मा ३४ यात्रु आएका र भैरहवाबाट ४ हजार ४६५ यात्रु मात्र लगेको बज्राचार्यले बताए। विमानस्थलले सेवा शुल्कबापत २३ करोड ९६ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। 

विमानहरूलाई आकर्षित गर्न विमानस्थलमा ल्याण्डिङ, पार्किङ, नेभिगेसनलगायत सेवामा शतप्रतिशत छुट दिँदा पनि विमानस्थलले अहिले पनि बिजनेस पाउन सकेको छैन। अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडानमा चासो नै नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

प्रवक्ता बज्राचार्यले नेपालको मार्केटलाई एक्पोज गर्न नसक्दा नै अन्तर्राष्ट्रिय उडानमा वायु सेवा कम्पनीले चासो नदिएको बताए। ‘केही रुटको पनि कारण होला। तर पनि जति हामीले उडानको अपेक्षा गरेका हौँ। त्यो हुन नसकेको यथार्थ हो।’ उनले भने। 

सेतो हात्ती बन्नेमा चिन्ता

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कुल ४३ अर्ब खर्च भएको छ। यो मुआब्जा वितरणसहितको रकम हो। यसमा एसियाली विकास बैंकले ऋण दिएको छ। बैंकसँग सरकारले करिब साढे ७ अर्ब रुपैयाँ ऋण लिएको हो। ०७५ वैशाखदेखि नै ५ प्रतिशतका दरले ब्याज तिर्न सुरु गरिएको छ। 

३२ वर्षमा चुक्ता गर्ने गरी ऋण लिएको र ५ वर्षको अवधिमा ६० करोड मात्र ऋण बैंकलाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ। २५ चैत ०६७ मा भएको सम्झौताअनुसार नेपालले ग्रेस अवधि ८ वर्षसहित ३२ वर्षमा ४८ किस्तामा ऋण चुक्ता गर्नुपर्छ। 

बैंकलाई तिर्नुपर्ने ऋणको ब्याजसमेत अहिले विमानस्थलबाट आम्दानी छैन। त्यसैले पनि विमानस्थल कतै सेतो हात्ती बन्ने पो हो कि भन्ने डर निजी क्षेत्रलाई छ। 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजू विमानस्थल निर्माणकै कारण धेरै लगानी निजी क्षेत्रले गरेकाले अहिले विमानस्थल सञ्चालनमा नआउँदा लगानी धराशयी हुने डर निजी क्षेत्रमा रहेको बताए।

‘यो सञ्चालन व्यवसायीले गर्ने होइन। सञ्चालनका लागि सरकारले नै पहल गर्नुपर्छ’, उनले भने। 

त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले विमानस्थललाई फुल फेजमा सञ्चालनमा नल्याउँदासम्म यसको आवश्यकतामाथि प्रश्न चिह्न उठ्ने बताए। 

राज्यको अर्बौँ रुपैयाँ लगानी भएर पनि विमानस्थलले बिजनेस नपाउनु सरकारकै कमजोरी भएको उनको भनाइ छ। ‘हामीले पर्यटकलाई यहाँ ल्याएर देखाउने के हो ? पर्यटकीय गतिविधि बढाउन राज्यले के योजना ल्याएको छ ? गौतमबुद्ध जन्मस्थल लुम्बिनीले मात्र पनि पर्यटकको बसाइ लम्बाउन सकिन्छ। तर योजना सरकारको चाहियो। निजी क्षेत्र त्यसमा साथ दिन तयार छन्’, उनले भने। 

लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नहुँदासम्म यस क्षेत्रको आर्थिक र पर्यटनको विकास हुन नसक्ने बताउँछिन्।

विमानस्थल निर्माण भएसँगै जिल्लाभित्र र आसपासका जिल्लामा खर्बौँ रुपैयाँको लगानीमा होटल तथा पर्यटकीय स्थलहरू निर्माण भएको भन्दै विमानस्थल अहिलेसम्म पूर्ण क्षमतामा सञ्चालन नहुनु दुखद् भएको बताइन्। 

‘देशको अर्बौँ रुपैयाँ खर्च भएको छ। निजी क्षेत्रको लगानी पनि अर्बौँ छ। तर सरोकारवालाहरू यसलाई कसरी नियमित सञ्चालन गरेर पर्यटकलाई यहाँ ल्याउने सकिन्छ। आर्थिक गतिविधि कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान नै दिएका छैनन्’, उनले भनिन्। 

विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न पर्यटन मन्त्रीलाई पटक-पटक भने पनि सुनुवाइ नभएको उनले बताइन्। ‘विमानस्थललाई पूर्ण क्षमता ल्याउन प्राधिकरण, पर्यटन मन्त्रालय, सरकार लाग्नुपर्छ। दुई देशबीच कूटनीतिक पहल पनि जरुरी छ’, उनले भनिन्। 

लुम्बिनीमा सीधा उडान हुने भनेपछि हौसिएका पर्यटकहरू पनि अहिले निरास भएका उनको भनाइ छ। अन्तर्राष्ट्रिय उडान नियमित भए मात्र पर्यटकहरूको आगमन वृद्धि गर्न सकिने भएकाले सरकारले यसतर्फ गम्भीर पहलकदमी गर्नुपर्ने उनले बताइन्। 

*हेडलाइन सहित समाचारका केही अंश संशोधन गरिएको छ। 

साउन २५, २०८० बिहीबार १४:३२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।