नरदेवी अस्पताल : आयुर्वेदकै अस्तित्व संकटमा, आफ्ना मान्छेलाई छानीछानी प्रोत्साहन भत्ता

नरदेवी अस्पताल : आयुर्वेदकै अस्तित्व संकटमा, आफ्ना मान्छेलाई छानीछानी प्रोत्साहन भत्ता

काठमाडौं : साउन १८ गते दिउँसो करिब १२ बजे उकेराकर्मी नरदेवी आयुर्वेद चिकित्सालय (नरदेवी आयुर्वेद अस्पताल) पुग्यो। 

त्यसपछि ओपीडी टिकटका लागि लाइन बस्यो। टिकट काट्ने पालो आयो। टिकट काउन्टरमा बसेकी महिला कर्मचारीले के समस्या भएको हो भनेर सोधिन्। उकेराकर्मीले हातखुट्टा झमझमाउने अनि दुख्ने समस्या बतायो। र, भन्यो, ‘पञ्चकर्म चाहिने हो कि !’ पञ्चकर्म आयुर्वेद चिकित्सा विधाको उपचार एक पद्दति हो। 

त्यसपछि ती टिकट काट्ने कर्मचारीले अलि आनाकानी गर्दै पञ्चकर्म सेवा नहोला कि भन्ने जवाफ दिइन्।फेरि उकेराकर्मीले किन पञ्चकर्म  सेवा छैन र ? भनेर सोधेपछि उनले ‘हुन त हुन्छ’ भन्ने खालको जवाफ फकाईन्। 

त्यसपछि ती कर्मचारीले पञ्चकर्म विभागको कोठा नं ३०१ मा जान टिकट काटिदिइन्। उकेराकर्मी पञ्चकर्म विभागमा पुग्यो। बिरामीको चाप खासै थिएन। पालो आइहाल्यो। 

डा. देवेन्द्र शर्मा र अर्का एक जना जुनियर देखिने चिकित्सकले स्वास्थ्य समस्या सोधे।  त्यसपछि पञ्चकर्म थेरापी आवश्यक नपर्ने उनले निष्कर्ष निकाले। अनि प्रेस्क्रिस्पन कागजमा केही आयुर्वेदिक औषधि लेखिदिए। 

त्यसपछि उकेराकर्मीले अस्पतालको फार्मेसीबाट निःशुल्क पाइने केही औषधि लियो। केही औषधि अर्को फार्मेसीमा किन्नुपर्ने थियो। 

अकुपञ्चर ओपीडी कोठा नं. ‘२०१’

स्वास्थ्य जाँच तथा औषधि लिने काम सकिएपछि उकेराकर्मी अस्पतालका निर्देशक डा. प्रदीप केसीको कार्यकक्षमा पुग्यो। उनी त्यहीँ भेटिए। केहीबेरको कुराकानीपछि उकेराकर्मीले अस्पतालमा भएका सेवाको विवारण माग्यो। सञ्चारकर्मी भएको नाताले अस्पताल पुगेपछि अस्पतालको सेवाको विषयमा जिज्ञासा लिनु उकेराकर्मीका लागि स्वाभाविक नै भइहाल्यो।

उनले विवरण उपलब्ध गराउन एक जना महिला कर्मचारीलाई भनिदिए। तर, विवरण खोज्न केही समय लाग्ने भयो। त्यसैले विवरण खोजुञ्जेल उकेराकर्मीले निर्देशक डा. केसीसँग नरदेवी आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल) अवलोकन गर्न र श्रव्यदृष्य सामग्री कैद गर्न मौखिक रूपमा अनुमति लियो। उनले अनुमति दिए। 

चिकित्सालयका सूचना अधिकारी डा. झुलाराम अधिकारीले अस्पताल अवलोकनका लागि केही सहजीकरण गरिदिए। त्यसपछि उकेराकर्मी अस्पताल अवलोकन गर्न थाल्यो। 

उकेराकर्मीले अस्पतालको गेटबाट नै अवलोकन सुरु गर्यो। नरदेवी आयुर्वेद चिकित्सालयको गेटबाट छिर्नेबित्तिकै दायाँतर्फ ठूलो भवनको अगाडि ‘२०१’ नम्बर लेखिएको कोठा देखियो। त्यो कोठा नम्बर लेखिएभन्दा माथि ‘अकुपञ्चर ओपीडी’ लेखिएको देखियो। 

अकुपञ्चरको ओपीडी कोठामा छिर्ने ढोकाको छेउमा एउटा बोर्डमा ‘अकुपञ्चर, योगा विभाग’ लेखिएको थियो। त्यही बोर्डमा डा. काशी खतिवडा, डा. झुलाराम अधिकारी, डा. जया सत्याल, डा. राधेश्याम शिल्पकारको नेमप्लेट थियो। यी चारै जना अकुपञ्चर विधाका चिकित्सक रहेछन्। चिकित्सकहरू भित्र कोठमा बिरामीको स्वास्थ्य जाँच गरिरहेका देखिन्थ्यो। 

ओपीडी कक्षको अगाडि टाँसेर एउटा छाप्रो हालिएको रहेछ। त्यही छाप्रोमुनि बिरामी अकुपञ्चर ओपीडीमा जँचाउनका लागि पालो कुरिरहेका थिए। बिरामीको चाप मनग्यै देखिन्थ्यो। 

अकुपञ्चरबाहेकका विधा ओझेलमा

त्यसपछि उकेराकर्मी अकुपञ्चर शाखाअन्तर्गत बिरामी भर्ना भएका कक्ष घुम्दा यी कक्षमा पनि बिरामीको चाप मनग्य देखियो। भर्ना भएका बिरामीको चाप पनि बाक्लै थियो। त्यसैगरी स्वास्थ्यकर्मीहरू अकुप्रेसर, मोक्जिवेसन, कपिङजस्ता थेरापी तथा उपचार गरिरहेको देखिए। यी अकुपञ्चर तथा परम्परागत चिनियाँ चिकित्सा विधि (टीसीएम) अन्तर्गतका उपचारात्मक विधा हुन्।

अकुपञ्चर विभागपछि उकेराकर्मी अर्को भवनमा रहेको पञ्चकर्म शाखामा पुग्यो। तर, त्यो बेलासम्ममा पञ्चकर्मको ओपीडीमा बिरामी नै देखिएन। पञ्चकर्मका शिरोधारा उपचार कक्ष, कटी बस्ती, जानु बस्ती, ग्रीवा बस्ती, नस्य कक्ष, एकाङ्ग तथा सर्वांङ्ग स्वेदन कक्ष र बस्ती तथा विरेचनजस्ता कक्षमा पुग्दा स्वास्थ्यकर्मी तथा कर्मचारीहरू खत्राङखुत्रुङ काम गरिरहेको देखिन्थे।

यी आयुर्वेदतर्फका उपचारात्मक विधा हुन्। तर, यी विभागमा उपचारका लागि पुग्ने बिरामी भने १-२ जनाबाहेक देखिएनन्। पञ्चकर्मलगायत शाखाको कोठाहरू समेत अकुपञ्चर शाखाको तुलनामा कुचुक्क देखिए। 

नरदेवी औषधालयमा काय चिकित्सा, अकुपञ्चर, पञ्चकर्म, शल्य चिकित्सा, स्त्री तथा कौमारभृत्य, सत्वावजय चिकित्सा, फिजियो थेरापीजस्ता उपचारात्मक सेवा छन्। तर, यहाँ अकुपञ्चबाहेक चिकित्सा विधालाई गौण राख्ने प्रयास भएको देखियो। त्यो पनि नरदेवी आयुर्वेद औषधालयका निर्देशक डा. केसीबाट नै। जो आयुर्वेद अस्पतालका निर्देशक हुन्। उनको काम आयुर्वेद अस्पतालको वृद्धिविकास गर्नु हो। तर, त्यस्तो देखिएन। 

टिकट काट्ने ठाउँबाट नै निर्देशक डा. केसीकै सेटिङमा आयुर्वेद औषधालय पुगेका बिरामीलाई आयुर्वेदतर्फ नपठाई अकुपञ्चरतर्फ पठाइने गरेको आरोप लाग्दै आएको छ। देखिएको पनि त्यस्तै नै छ। निर्देशक डा. केसीले भने टिकट काट्ने ठाउँबाट नै सेटिङ गरेर बिरामीलाई अकुपञ्चरतिर पठाउने गरेको भन्ने आरोपको अस्वीकार गरे।

‘अहिलेको जमानामा कसैलाई जा, मेरी बुढी छे, मेरो छोरो छ, मेरो हजुरआमा छ भनेर हुँदैन। बिरामी ठिक हुनुपर्छ,’ उनले भने, ‘यति कुरा जसले पनि बुझ्नुपर्छ।’

आफ्ना मान्छे छानीछानी बढाएर प्रोत्साहन भत्ता

अस्पतालमा उकेराकर्मीले केहीबेर अवलोकन गर्यो। त्यसपछि आयुर्वेद चिकित्सालयले टिकट काट्ने ठाउँदेखि नै सेटिङ गरेर आयुर्वेदतर्फको सेवाका लागि बिरामीहरूलाई फाट्टफुट्ट मात्र पठाएर अकुपञ्चरतर्फको सेवा लिन पठाएको देखियो।

अस्पतालको अवलोकनपछि बेलुकी अस्पतालका निर्देशक डा. केसीले केही तथ्यांक उपलब्ध गराए र उकेराकर्मी फर्कियो। त्यसपछि उकेराकर्मीले नरदेवी चिकित्सालय (नरदेवी अस्पताल) का विषयमा थप खोजबिन गर्न थाल्यो। खोजबिनका क्रममा एउटा तथ्य फेला पर्यो। 

नरदेवी चिकित्सालयमा काम गर्ने चिकित्सक तथा कर्मचारीलाई निर्देशक डा. केसीले काम गरेबापत प्रोत्साहन तथा ओजेटी (अन दी जब ट्रेनिङ) भत्तासमेत बाँड्दै आएका रहेछन्। निर्देशक डा. केसीले २०७९ जेठ ५ गते १२ लाख १५ हजार पाँच सय रकम नेपाल बैंकमार्फत जम्मा गरेर भत्ता खुवाएका थिए। 

उकेरालाई प्राप्त तथ्यअनुसार निर्देशक डा. केसीले अकुपञ्चरतर्फका चिकित्सकलाई नै बढी प्रोत्साहन भत्ता बाँडेको देखियो। त्यो क्रम निरन्तर रहेको नरदेवी स्रोतले जानकारी दिएको छ। 

प्रोत्साहनबापत भत्ता निर्देशक डा. केसीले पनि लिएको देखियो। डा. केसीले ३९ हजार एक सय प्रोत्साहन भत्ता लिएको पाइयो। 

तर, बिरामीको उपचारमा संलग्न नै नभई उनले प्रोत्साहन भत्ता लिने गरेको स्रोतले जानकारी दियो। 

त्यसैगरी डा. जया सत्यालले ५८ हजार दुई सय २५ रुपैयाँ प्रोत्साहन भत्ता पाएकी थिइन्। डा. काशी खतिवडाले ५८ हजार दुई सय २५ रुपैयाँ प्रोत्साहन भत्ता लिएका थिए। सबै नरदेवीमा काम गरेको चिकित्सकले पाएका मध्ये डा. सत्याल र डा. खतिवडाको यो भत्ता अन्य चिकित्सकको भन्दा बढी हो। डा. सत्याल निर्देशक डा. केसीकै श्रीमती रहिछन्। डा. झुलाराम अधिकारीले ५५ हजार ६ सय ७५ लिएका थिए भने डा. राधेश्याम शिल्पकारले ३९ हजार नौ सय ५० रुपैयाँ रकम लिएका थिए। 

यी बढी भत्ता खाने पाँचै जना चिकित्सक परमपरागत चिनियाँ उपचार विधा (टीसिएम) मा आधारित अकुपञ्चरतर्फका चिकित्सक हुन्। 

यी चिकित्सकहरूले अकुपञ्चर उपचारात्मक विद्यालाई नै जोड दिएको देखिन्छ। उनीहरूले काम पनि अकुपञ्चर तथा मोक्जिवेसन विभागमा नै गरिरहेको देखियो। तर, यी पाँच जना चिकित्सकको सरकारी दरबन्दी भने आयुर्वेदतर्फकै हो। 

आयुर्वेदतर्फ काम गर्ने चिकित्सकलाई भने निर्देशक डा. केसीले प्रोत्साहन भत्ता पनि न्यून दिएको देखिन्छ। 

आयुर्वेदतर्फका डा. राम कामेश्वर ठाकुरलाई १४ हजार चार सय ५०, डा. शोभाराम सुवेदीलाई २८ हजार नौ सय, डा. रामदेव यादवलाई नौ सय ३५, डा. सुरेन्द्र शर्मालाई ११ हजार नौ सय, डा. बैकुण्ठ सुवेदीलाई ११ हजार नौ सय, डा. जनकराज अधिकारीलाई ११ हजार सात सय ५० प्रोत्साहन भत्ता दिइएको थियो।

त्यसैगरी डा. बुद्धिप्रसाद पौडेललाई २६ हजार सात सय ५०, डा. महारुद्र कुमार ठाकुरलाई १४ हजार चार सय ५० प्रोत्साहन भत्ता बाँडिएको थियो। 

त्यसो त निर्देशक डा. केसीले आफ्ना मान्छेलाई छानीछानी नै बढी भत्ता दिएको समेत स्रोतको दाबी छ। तथ्यांकले पनि त्यस्तै देखाएको छ। तथ्यांक (कम्प्युटर) मा काम गर्ने उनैकी भान्जी पूजा ज्ञवालीलाई भने निर्देशक डा. केसीले १९ हजार एक सय २५ रुपैयाँ प्रोत्साहन भत्ता दिएका छन्।  

आयुर्वेदतर्फका केही चिकित्सकभन्दा उनको भत्ता बढी देखिन्छ। उनी करार जागिरे हुन्। 

डा. केसीले ज्ञवाली आफ्नै भान्जी भएको पुष्टि गरे। ‘तिनी (पूजा) मेरी साख्ये कान्छी दिदीकी छोरी हुन्। भान्जी हुन्।’ नेपाल सरकारको नियम पुर्याएरै (करार) जागिर खाएको डा. केसीले बताए। भान्जीले राम्रो काम गरिरहेको उनले दाबीसमेत गरे।

‘सहोदर भान्जी हुन्, भान्जीलाई जागिरमा राखेर गलत गरेको छु भने कारबाही पाऊँ, कामको लागि मान्छे राख्ने त हो नी,’ उनले भने। 

त्यसैगरी डा. कृष्णप्रसाद ज्ञवालीलाई पनि डा. केसीले ४० हजार तीन सय ७५ रुपैयाँ भत्ता दिएका छन्। ज्ञवाली निर्देशक डा. केसीका नजिकका कर्मचारी भएको स्रोतको दाबी छ। 

तर, निर्देशक डा. केसीले अकुपञ्चर अध्ययन गरेका चिकित्सक नै भए पनि डा. सुरेन्द्र शर्मालाई भने अकुपञ्चर विभागमा काम गर्न नदिएको स्रोत बताउँछ। निर्देशकले मन नपराएपछि डा. शर्मालाई त्यो विभागमा काम गर्नबाट वञ्चित गरिएको स्रोतको दाबी छ। 

त्यसैगरी निर्देशक डा. केसीले आर्थिक वर्ष २०२२/०२३ मा ९३ लाख ३४ हजार पाँच सय प्रोत्साहन भत्ता बाँडेका थिए। ‘इम्प्लोई मोटिभेशनः पर्फमेन्स बेस्ड इन्सेन्टिभ डिस्ट्रिब्युसन’ का नाममा उनले सो भत्ता बाँडेका हुन्। 

निर्देशक डा. केसीले भने कार्यविधिअनुसार नै प्रोत्साहन भत्ता बाँडिएको दाबी गरे। बिरामीको स्वास्थ्य परीक्षण तथा उपचारमा संलग्न नभई नै तपाईंले पनि त प्रोत्साहन भत्ता लिनुहुँदो रहेछ नि ? भन्ने जिज्ञासामा डा. केसीले भने, ‘त्यहाँ त डाक्टरबाहेक अरू कसैले पनि प्राक्टिस गदैनन्। डाक्टरले मात्रै हो उपचार गर्ने। कार्यालय सहयोगिले के प्राक्टिस (बिरामीको उपचारमा खटिने काम) गर्छन्? त्यसो भए त उनीहरूलाई दिनै भएन नि।’ 

यस्तो छ  तथ्यांक

नरदेवी चिकित्सालयले नै उपलब्ध गराएको विवरण हेर्दा आयुर्वेदको तुलनामा अकुपञ्चर सेवालाई नै बढी प्राथमिकता दिएको देखिन्छ। आर्थिक वर्ष २०७९/०८० को तथ्यांक हेर्दा नरदेवी पुग्नेमध्ये २१ हजार सात सयले अकुपञ्चर सेवा लिएका छन्।

त्यसैगरी पञ्चकर्म सेवा लिनेको संख्या १४ हजार चार सय ३० रहेको छ भने शल्य चिकित्सा सेवा लिनेको संख्या १२ हजार आठ सय ६४ छ। काय चिकित्सा सेवा लिनेको संख्या १० हजार दुई सय २९ छ भने फिजियोथेरापी सेवा लिनेको संख्या दुई हजार आठसय ५५ छ। 

अकुपञ्चर र फिजियो थेरापीबाहेक सबै सेवा आयुर्वेद विधातर्फका चिकित्सा विधामा पर्ने विज्ञ बताउँछन्। 

यो तथ्यांकबाट नै नरदेवीबाट दिने सेवामध्ये अकुपञ्चरलाई नै पहिलो प्राथमिकता दिएको देखिन्छ। तर, बिरामीको छनोटका कारण भने अकुपञ्चर पहिलो प्राथमिकतामा परेको देखिँदैन। जबकि यो आयुर्वेद चिकित्सालय हो। अकुपञ्चर त वैकल्पिक चिकित्सा विधाको एउटा शाखा मात्रै हो।

त्यसैगरी आर्थिक वर्ष २०२२/०२३ को तथ्यांक हेर्दा पनि अन्य थेरापीको तुलनामा अकुपञ्चर थेरापीलाई नै नरदेवीले प्राथमिकतामा राखेको देखिन्छ। २०२२/०२३ को तथ्यांकअनुसार ३४ हजार आठ सय ७१ जनालाई नरदेवीले अकुपञ्चर थेरापी सेवा दिएको छ।

त्यसैगरी ११ हजार पाँच सय ६९ ले पञ्चकर्म, सात हजार सात सय १५ ले छारसूत्र तथा कर्म, चार सय ५३ जनाले सर्जिकल अप्रेशन सेवा लिएको देखिन्छ। 

त्यसो त नरदेवी चिकित्सालयले सेवा दिएबापतको आर्थिक स्रोत हेर्ने हो भने अकुपञ्चर सेवा दिएवापतकै आयस्रोत बढी देखिन्छ। टिकट काउन्टरबाट नै अकुपञ्चर सेवा लिन बिरामी पठाएर आयुर्वेदतर्फ नपठाएपछि अकुपञ्चर सेवाबापतकै आम्दानी बढी देखिनु स्वाभाविकै हो। 

अस्पतालको आर्थिक वर्ष २०२२/०२३ को तथ्यांक हेर्दा अकुपञ्चर दिएबापत अस्पतालले बिरामीबाट करिब ५२ लाख आम्दानी गरेको देखिन्छ भने पञ्चकर्मबाट करिब २५ लाख मात्रै आम्दानी गरेको देखिन्छ। 

त्यसैगरी नरदेवीले शल्य चिकित्सा (सर्जरी) बाट करिब ४७ लाख आम्दानी गरेको छ भने प्रयोगशालाबाट करिब ४२ लाख आम्दानी गरेको छ। अस्पताल भर्ना भएका बिरामी (आईपीडी) बाट करिब २८ लाख, रेडियोलोजीसम्बन्धी सेवाबाट करिब २२ लाख, फिजियोथेरापीबाट करिब १७ लाख, प्रसू्ति तथा स्त्रीरोगसम्बन्धी सेवाबापत करिब चार लाख आम्दानी गरेको देखिन्छ।

नरदेवीको तीन वर्ष यताको आम्दानीको ग्राफ भने बढ्दै गएको देखिन्छ। समयक्रमसँगै आम्दानी बढ्दै जानु स्वाभावि पनि हो। तर, आम्दानी बढेसँगै खर्च पनि बढिरहेकै हुन्छ। 

आर्थिक वर्ष २०२०/०२१ मा नरदेवीले बिरामीलाई सेवा दिएबापत ७५ लाख ६८ हजार चार सय ८९ रुपैयाँ आम्दानी गरेको थियो। आर्थिक वर्ष २०२१/०२२ मा एक करोड ७० लाख ९१ हजार ७६ रुपैयाँ र आर्थिक वर्ष २०२२/०२३ मा दुई करोड ८६ लाख ७४ हजार दुई सय पाँच रुपैयाँ आम्दानी गरेको देखिन्छ।

तर, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा मात्रै आर्थिक वर्ष २०७९/०८० मा चार करोड २२ लाख ५८ हजार एक सय खर्च भएको थियो। 

विज्ञ भन्छन्, ‘आयुर्वेद मास्न पाइँदैन’ 

त्यसैगरी नरदेवी आयुर्वेदिक अस्पताल भएकाले त्यहाँ आयुर्वेदिक चिकित्सकीय विधालाई नै प्राथमिकता दिनुपर्ने आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले बताए। अकुपञ्चर आयुर्वेदको वैकल्पिक विधा भएकाले अकुपञ्चर सहयोगी विधाका रूपमा मात्रै लिनुपर्ने उनी बताउँछन्। 

नरदेवीमा अकुपञ्चर र फिजियो थेरापीजस्ता विधालाई बिरामीको आवश्यकताअनुसार सहयोगी चिकित्साका रूपमा मात्रै प्रयोग गर्नुपर्ने उनको सुझाव छ। ‘आयुर्वेद चिकित्सालयमा आयुर्वेद विषय नै अगाडि बढ्नुपर्छ,’डा. यादवले भने,‘आयुर्वेदको ८ ओटा अंगलाई नै प्रमोट गर्नुपर्ने हुन्छ।’ 

आयुर्वेद अस्पतालमा बिरामी आयुर्वेदको सेवा लिन जाने भए पनि सेवाग्राहीले मैले कुन विधाको सेवा लिँदैछु भन्ने थाहा नै नहुने भएकाले अकुपञ्चरलाई पनि आयुर्वेदकै सेवा भन्ठान्ने डा. यादवले बताए। ‘नरदेवी अस्पतालमा बिरामी त आयुर्वेदको सेवा लिन आउँछन् नि,’ उनले भने,‘बिरामी त जता पठायो उतै जाने हुन्छन्।’ 

त्यसो त अधिकांश स्वास्थ्य समस्यामा अकुपञ्चरको तुलनामा पञ्चकर्म उपचार विधि नै बढी प्रभावकारी हुने एक आयुर्वेद विज्ञ चिकित्सकले जानकारी दिएका छन्।

‘अकुपञ्चरभन्दा पञ्चकर्म बढी प्रभावकारी हो, धेरैजसो रोगमा,’ एक विशेषज्ञ चिकित्सकले भने। अकुपञ्चर र आयुर्वेदिक दुईमध्ये जुनै विधाबाट बिरामी ठिक भए पनि राम्रै पक्ष भएन र ? भन्ने जिज्ञासामा ती चिकित्सकले ‘पञ्चकर्मबाट कतिपय सेवा छिटो, छरिता र राम्रो हुने भए पनि केही रोगहरूमा अकुपञ्चरतिर पठाए अल्मल्याउने काम भएको तर्क  गरे। 

‘जोर्नीसम्बन्धी धेरै रोगहरू काय चिकित्सा र पञ्चकर्मबाट धेरै नै राम्रो हुन्छ, त्यसलाई अल्मल्याउने काम अकुपञ्चरले गर्ने भयो,’ ती चिकित्सकले भने। 

धेरै आयुर्वेद विज्ञसँग यस विषयमा कुराकानी हुँदा सबैले नरदेवी आयुर्वेद अस्पताललाई आयुर्वेदका विधालाई नै गौण राखेर अकुपञ्चर अस्पतालजस्तो बनाउन खोजिएको बताए। उनीहरूले त्यसो गर्न नहुने पनि सुझाव दिए।

आयुर्वेद नमासेको निर्देशकको दाबी

त्यसो त नरदेवीका निर्देशक डा. केसी स्वयं अकुपञ्चरलाई आयुर्वेदतर्फको एउटा सेवाको रूपमा लिनुपर्ने तर्क गर्छन्। निर्देशक डा. केसीले नरदेवीमा आफूले अकुपञ्चर सुरु गरेको नभई २०४२ सालदेखि नै सुरु भएको तर्क गरे। ‘मैले सुरु गरेको पनि हैन। म २०७६ मा निर्देशक भएको हो,’ उनले भने। 

उनले अस्पतालमा आफूले आयुर्वेदको मर्म नमारेको पनि दाबी गरे। सकेसम्म आयुर्वेद उपचार पद्दति नै अवलम्बन गरिरहेको उनको तर्क छ। तर, व्यवहारमा भने नरदेवी अस्पतालमा त्यस्तो देखिँदैन। आयुर्वेदलाई गौण बनाएर अकुपञ्चरलाई नै प्राथमिकतामा राखेको देखिन्छ। 

निर्देशक डा. केसीले आयुर्वेदका केही चिकित्सा विधा प्रभावकारी नभएको र आयुर्वेदतर्फका चिकित्सकले पनि राम्रो काम गर्न नसकेको आशय व्यक्त गरे। उनले जनशक्ति अभाव भन्न मिल्ने अवस्था नरहे पनि उपचारकै कारण बिरामी आउने, नआउने भन्ने भर पर्ने तर्क गरे।

दुई हजार वर्षअघि बनेका आयुर्वेदिक औषधिका सूत्रले मात्रै काम नगर्ने उनको तर्क थियो। विशेषज्ञ चिकित्सकले अरूले बनाइदिएको औषधि प्रेस्काइप गर्ने मात्रै काम नभएको डा. केसीको बुझाइ छ।

त्यसैगरी काय चिकित्साको चिकित्सकले राम्रो काम नगर्दा सेवा प्रवाह राम्रो हुन नसकेको पनि उनले स्विकारे। ‘केन्द्रीय अस्पतालमा बस्ने, म स्पेसलिष्ट हुँ भन्ने अनि बिरामी अरूले ल्याइदिए हुन्थ्यो भनेर हुन्छ र?’,डा. केसीले भने,‘बिरामीले खोज्दै आउने बनाउनुपर्यो।’

आयुर्वेदतर्फ उपचारका लागि कसैलाई पनि नरोकेको उनको भनाइ थियो। ‘आयुर्वेदको काय चिकित्साले त्यस्तो खालको उपचार पद्दतिहरू ल्याउनुपर्यो नि, जसको कारण बढीभन्दा बढी मान्छेहरू उपचार गर्न आऊन्,’ उनले भने, ‘मैले त रोकेको छैन नि। पञ्चकर्म आयुर्वेदकै हो। त्यत्रो चलेको छ। त्यसमा पनि जनशक्ति कम भए होला।’

यदी नरदेवी चिकित्सालयमा आयुर्वेदिक विधाका चिकित्सकले काम नगरेको भए काम लगाउन नसक्नुचाहिँ उनको असक्षमता नै देखिन्छ। 

अस्पतालमा बालरोग विशेषज्ञ भए पनि एक वर्षमा २० जना बालबालिकासमेत उपचारका लागि नपुग्ने गरेका उनले सुनाए। तर आयुर्वेदकै शल्य चिकित्साले भने राम्रो सेवा दिइरहेको उनले तर्क गरे। 

त्यसो त बिरामीहरूले समेत नरदेवीमा अकुपञ्चर सेवा लिए पनि आयुर्वेदले नै ठिक भएको भन्ने गरेका निर्देशक डा. केसीले गोलमोटल तर्क गरे। आयुर्वेद अस्पतालमा आयुर्वेदको उपचारलाई नै ओझेलमा पारेको देखिन्छ नि ? भन्ने जिज्ञासामा डा. केसीले भने, ‘बिरामीले अकुपञ्चरले ठिक भए भन्दैन। म आयुर्वेद अस्पताल गएर ठिक भएको भन्छ।’ 

उनले थपे, ‘आयुर्वेद अस्पतालमा तपाईंले (बिरामीलाई) ढुंगाले थिचर ठिक गराउनुहोस् कि, माटो लगाएर ठिक गराउनुहोस्, त्यो आयुर्वेद अस्पतालमा आएर ठिक भएको भन्छ।’ 

त्यसैगरी २०७५ देखि आयुर्वेद चिकित्सालय विकास समितिका पदाधिकारीको गठनसमेत नहुँदा समस्या परिरहेको उनले तर्क गरे।

साउन २५, २०८० बिहीबार १३:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।