कारागारमा कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्, ९ कैदी प्रहरीको नियन्त्रणमा

कारागारमा कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्, ९ कैदी प्रहरीको नियन्त्रणमा

सङ्खुवासभा : जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन्। प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन्।

कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। 

कैदीको मृत्यु पछि कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताएका छन्।

कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ। कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन्।  

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ। दुवैजना एक वर्षदेखि कारागारमा थिए। 

जिल्ला कारागारमा बुधबार भएको यस घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ। 

साउन २५, २०८० बिहीबार १२:५६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।