यसपालिको मनसुनमा बाढी पहिरोमा परेर ४१ जनाको ज्यान गयो, ३१ जना बेपत्ता

यसपालिको मनसुनमा बाढी पहिरोमा परेर ४१ जनाको ज्यान गयो, ३१ जना बेपत्ता

काठमाडौं : गत जेठ ३१ गते मनसुन भित्रिएदेखि आज (बिहीबार)सम्म मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन्। हालसम्म ३१ जना अझै बेपत्ता छन्। 

गृह मन्त्रालयका अनुसार बाढी पहिरो लगायत मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका हुन्। 

ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए।

उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा मानवीय क्षति भएको हो। यस्तै बेपत्ता हुनेहरु ६ जिल्लाका छन्।

सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता छन् भने २८ जिल्लाका ५५ जना घाइते भएका छन्। 

विपद्मा परेर कूल एक सय ३० घर पूर्ण रुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ।

मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो।

साउन २५, २०८० बिहीबार १२:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।