एफबीआईले अमेरिकी राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिनेलाई गोली हानेर मा‍र्‍यो

एफबीआईले अमेरिकी राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिनेलाई गोली हानेर मा‍र्‍यो

एजेन्सी : अमेरिकाका राष्ट्रपति जो बाइडेनको ज्यान लिने धम्की दिएका एक व्यक्तिलाई एफबीआईले गोली हानी मारेको छ।

बाइडेनसहित सरकारी अधिकारीहरुलाई धम्की दिने करिब ७० वर्षीय व्यक्तिलाई लुकेर बसेको अवस्थामा छापा मारेर बुधबार एफबीआईले ज्यान लिएको हो।

क्रेग रोबर्टसन नाम गरेका उनलाई उटाहमा रहेको उनकै घरमा पसेर सुरक्षाकर्मीले गोली हानी हत्या गरेका छन्। बाइडेन उटाह भ्रमणमा आउनुभन्दा केही घण्टाअघि मात्र एफबीआईले उनी लुकेको ठाउँमा छापा मारेको हो। 

एफबीआईले उनलाई पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेकोले कारबाहीमा मारिएको जनाएको छ।

वृद्धले सुरक्षाकर्मीलाई नै बन्दुक ताकेपछि उनमाथि गोली चलाइएको एफबीआइको दावी छ । उनीमाथि राष्ट्रपतिमाथि धम्की दिएको तथा ल इन्फोर्समेन्ट अफिसरहरुलाई प्रत्याक्रमण गर्न खोजेको आरोप छ । अभियुक्तसँग एउटा राइफल र अन्य थुप्रै हतियार रहेको अधिकारीहरुले बताएका छन् ।

बाइडेन बुधबार बिहान उटाह आउनु अगाडि रोबर्ट्सनले धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा बाइडेन उटाह आउँदैछन्, त्यसैले मैले बन्दुक तयार पार्दैछु भनेर लेखेका थिए। 

उनीबाट एक राइफलसँगै अन्य हतियारहरु बरामद भएको प्रहरीले जनाएको छ।

साउन २५, २०८० बिहीबार १२:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।