गण्डकी प्रदेशसभा बैठक एक महिनापछि आज बस्दै
कास्की : गण्डकी प्रदेशसभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्ने भएको छ।
त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए।
गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो। बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन।
प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ।
साउन २५, २०८० बिहीबार ११:०२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।