वकिलसँग इमरान खानको याचना : जेलमा किरा र लामखुट्टेले टोक्यो, मलाई जतिसक्दो चाँडो निकाल्नुस्

वकिलसँग इमरान खानको याचना : जेलमा किरा र लामखुट्टेले टोक्यो, मलाई जतिसक्दो चाँडो निकाल्नुस्

भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बुधबार आफ्ना वकिलहरूसँग भेट गरेका छन्।

इमरानले वकिलहरूसँग भने, 'जतिसक्दो चाँडो मलाई यहाँबाट निकालिदिनुहोस्। यहाँ 'सी' ग्रेडको सुविधा पनि छैन।' 

मिडिया रिपोर्टका अनुसार खानले वकिलहरूलाई कुनै पनि हालतमा यहाँ बस्न नसक्ने बताएक थिए। आफूलाई कारागारमा दिउँसो किरा र राति लामखुट्टेले निकै सताएको उनले बताए। इमरालाई नौ फिट लामो र उस्तै चौडा ब्यारेकमा राखिएको छ। 

इमरानविरुद्ध कुल १४० मुद्दा दर्ता छन्। तीमध्ये चार वटा मुद्दा यस्ता छन्, जसमा उनको गिरफ्तारी निश्चित छ। अल कादिर ट्रस्ट मुद्दा, मे ९ मा भएको हिंसा प्रकरण, महिला न्यायाधीशलाई धम्की दिने मुद्दा र साइफर केस यीमध्ये महत्वपूर्ण छन्।

यी सबैमा इमरानविरुद्ध बलियो प्रमाण छ। त्यसैले तोषाखाना मुद्दामा बाहिर आए पनि सरकार र सेनाले उनलाई अर्को मुद्दामा पक्राउ गरेर जेल हाल्ने निश्चित छ। 

इस्लामावाद ट्रायल कोर्टले इमरानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्ष जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाएको छ। लाहोर प्रहरीले खानलाई जमान पार्कस्थित उनको घरैबाट पक्राउ गरेको थियो। 

साउन २५, २०८० बिहीबार ०७:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।