फिल्म 'गाँजाबाजा'को रेकर्ड 'जुलेबी'बाट ब्रेक गर्लान् गणेशदेवले !

फिल्म 'गाँजाबाजा'को रेकर्ड 'जुलेबी'बाट ब्रेक गर्लान् गणेशदेवले !

काठमाडौँ : फिल्म 'गाँजाबाजा' हेर्ने दर्शकले सहजै खुट्याउन सक्छन् यो फिल्मको जसले निर्देशन गरेको हो उसको दिमागमा बढो रचनात्मक 'फिल्मी किरा' छ।

नामकै कारण धेरै सास्ती बेहोरेको फिल्म जुन गुणस्तरको बन्यो व्यापार त्यो स्तरको हुन सकेन। झुक्किएर नेपाली फिल्म हेर्न हलमा पुग्ने दर्शकहरू झुक्किएरै भए पनि यो फिल्म हेर्न हलमा पुगेको भए सायद यसका निर्देशक गणेश देव पाण्डे त्यति धेरै फ्रस्टेड हुने थिएनन् होला।

उत्पादन अगतिलोहुँदा हुने असफलताले जन्माउने दिक्दारीभन्दा गतिलो उत्पादन हुँदाहुँदै पनि आइपर्ने असफलताले बढाउने दिक्दारीको मात्राको गुणात्मकता बढी हुन्छ नै। त्यसको असर पाण्डेमा पनि देखियो नै।

तर उनको दिमागमा सलबलाउने त्यो फिल्मी किराले उनलाई चियाको किट्ली मात्र समातेर बस्न दिएन। सक्सकाइरहेको फिल्मी किरालाई शान्त बनाउँदै उनले अर्को फिल्मको निर्देशन गरे जुलेबी।

गाँजाबाजामा सबैभन्दा धेरै सकस उनले सेन्सरमै पाएका थिए। जुलेबी यौन मनोविज्ञानसँग जोडिएको छ। ओच्छ्यानमा वाइल्ड हुने चाहनेहरू नै बाहिर भने हातमा नैतिकताको किताब बोकेर हिड्नेहरुको जमात टन्नै छ।

यौनलाई समाजको आधारमा हैन आफ्नो सोचाइको धरातलको आधारमा निर्णय गर्छन्। त्यसको प्रतिनिधित्व नेपालको सेन्सर बोर्डमा छ है भन्ने धेरै घटनाले पुष्टि गरिसकेको छ। त्यो मानेमा गाँजाबाजाको सकस जुलेबीमा नदोहोरिएला भन्न सकिन्न।

जुलेबीको प्रचारकोक्रममा पाण्डेले गुरिल्ला फिल्म मेकिङ शैली अपनाएको खुलाएका छन्। यसले नै उनको दिमागमा कस्तो खालको फिल्मी किरा खेल्छ भन्ने देखाउँछ नै।

फिल्मको ट्रेलरले नै उनको फिल्मको धेरै पाटो खुलाएको छ। यसका क्यारेक्टरले पनि चार महिला पात्र अनि उनीहरूको यौन जीवन र यौन मनोविज्ञानको कथा नै फिल्मको मूल कथा हो भन्ने देखाउँछ नै। रत्नपार्कलाई फिल्मको केन्द्रमा राख्नुले पनि फिल्मको धेरै विषयवस्तु खुलाउँछ।

क्यारेक्टरको आधारमा सुरक्षा पन्तले यौनकर्मीको यौन मनोविज्ञान बोकेको देखिन्छ। उषा रजकको क्यारेक्टर अलि सस्पेन्स देखिन्छ। निशा अधिकारी अतृप्त यौन चाहना भएकी प्रौढ महिलाको चरित्रमा रहेको सङ्केत गर्छ। मोनिका थापाको क्यारेक्टर खुलेको छैन। यी पात्र वरिपरि सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा घुमेका छन्।

महिला पात्रहरूको यौन मनोविज्ञानमा आधारित फिल्म मात्र हैन सिरिजहरू पनि हिट छन् अहिले। द लस्ट स्टोरी नै त्यसको उदाहरण हो।

लस्ट स्टोरीजकै थिममा फिल्म बनेको भए नेपाली दर्शकका लागि पक्कै त्यो नयाँ हुने छैन। किनकि नेपालमा द लस्ट स्टोरी उत्तिकै चर्चित छ।

तर जुन कोणबाट पाण्डेले फिल्म निर्माण गरेका छन् त्यो हेर्दा उनले त्यति मूर्खता गर्छन् भन्ने तत्काल अनुमानयोग्य विषय हैन। अब मूर्खता गरेका रहेछन् भने उनकै दुर्भाग्य।

पछिल्लो समय एकपछि अर्को फिल्म हलमा असफल भइरहेको बेलामा यो फिल्म भदौ एक गते परीक्षणका लागि हलमा लाग्दैछ। एक खालका कमजोर फिल्मले दिक्का भएका दर्शकहरूलाई पाण्डेको फिल्मी किराले जन्माएका पात्रहरूको अभिनयले सन्तुष्ट पार्न पनि सक्छ। वा गाँजाबाजाकै नियति दोहोरिन पनि सक्छ।

साउन २४, २०८० बुधबार २३:२२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।