वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका श्रमिकको राहत र छात्रवृत्ति रकम बढ्दै
काठमाडौँ : सरकारले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने भएको छ।
श्रम मन्त्रालयले राहत रकम निर्धारण गर्न श्रम सचिव केवल प्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन गरेर सात लाखबाट रकम बढाएर १० लाख पुर्याउने तयारी गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्ड बैठकले मृतकका परिवारलाई दिइँदै आएको आर्थिक सहायता रकम बढाउने निर्णय गरेको हो ।
‘अहिले दिइँदै आएको ७ लाख अपुग भयो। कम्तीमा १० लाख रुपैयाँ निर्धारण हुनेछ। त्योभन्दा बढी निर्धारण गर्नको लागि अध्ययन समिति बनाइएको छ' उनले भने' कोषको क्षमता हेरी राहत रकम तोक्नेछौँ। यसको लागि चालु आर्थिक वर्षको बोर्डको राहत रकमको बजेट बढाइएको छ।
बोर्डले २०७४/७५ देखि मृतक परिवारलाई ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। श्रमिकले श्रम स्वीकृति गर्ने बेला जम्मा गरेको कल्याणकारी कोषबाट बोर्डले राहत रकम उपलब्ध गराउँदै आएको छ।
बोर्डले ०६५ देखि ७८/७९ सम्म १० हजार ६ सय ६६ जनालाई आर्थिक सहायता रकम उपलब्ध गराइसकेको छ । बोर्डले मृतकका परिवारको लागि उपलब्ध गराउँदै आएको वार्षिक शैक्षिक छात्रवृत्ति पनि बढाउने निर्णय गरेको छ।
अब कक्षा ८ सम्मको लागि १२ हजार र कक्षा १२ सम्मको लागि १६ हजार ५ सय रुपैयाँ शैक्षिक छात्रवृत्ति दिइने निर्णय गरेको हो।
साउन २४, २०८० बुधबार २२:१४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।