लगानी बढाउने हो भने नीतिगत स्थिरता चाहिन्छ, नत्र सकिँदैन : महासंघ अध्यक्ष ढकाल
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धि गर्न नीतिगत स्थिरता आवश्यक रहेको बताएका छन्।
बुधबार जनकपुरधाममा महासंघको मधेश प्रदेश कार्यालयको भवन उद्घाटन गर्दै उनले स्वदेशी तथा विदेशी लगानी बढाउने हो भने नीतिगत स्थिरता जरुरी रहेको बताए।
‘नीतिगत अस्थिरतामा लगानीमैत्री वातावरण बन्न सक्दैन। कुनै पनि मुलुकको कानून र नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन’, उनले भने।
महासंघमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेको बताउँदै ढकालले लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समस्या नहुने बताए।
मुलुकमा लगानीमैत्री वातावरण बनाउन पुराना कानूनी जटिलताहरूलाई विस्तारै परिमार्जन गर्न जरुरी रहेको उनले बताए।
‘हामी हरेक फोरमबाट पुराना कानूनी जटिलताहरू हटाउन, नयाँ कानून बनाउन र लगानीका लागि वातावरण बनाउन राज्यका विभिन्न निकायहरुसँग पैरवी गरिरहेका छौँ,’ उनले भने।
ढकालले नेपालमा लगानीको वातावरण बनेमा भारतीय लगानी विस्तार गर्न सकिने समेत जानकारी दिए।
‘प्रधानमन्त्रीको भ्रमणको समयमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको विजनेश फोरममा दुई देशका व्यवसायीविच सौहार्दपूर्ण छलफल भएको थियो। कार्यक्रममा नेपालका प्रधानमन्त्रीज्यू, दुई देशका मन्त्रीज्यूहरु, प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति र गहल छलफलबाट दुई देशबीच व्यवसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
लगत्तै बंगलादेशमा आयोजना भएको बिम्स्टेक सदस्य राष्ट्रहरूको छलफलबाट बिम्स्टेक बिजनेश फोरम गठनदेखि सदस्य राष्ट्रहरूबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।
अहिलेको जटिल आर्थिक परिस्थितिमा निजी क्षेत्रको एउटै आवाज बनाएर राज्य र यसका अन्य निकायसँग पैरवी गर्ने काम भइरहेको बताउँदै उनले निजी क्षेत्रका तीनवटा छाता संगठनहरुले बजेट तथा मौद्रिक नीतिमा साझा धारणा बनाई सरकार तथा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको बताए।
साउन २४, २०८० बुधबार २२:००:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।