तीन महिनापछि भयो सहमति, पश्चिम सुर्खेतको लगाममा पुग्यो गाडी

तीन महिनापछि भयो सहमति, पश्चिम सुर्खेतको लगाममा पुग्यो गाडी

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिब ९० किलोमिटर पश्चिम लगाममा तीन महिनापछि गाडी पुग्दा स्थानीय हर्षित भएका छन्।

केही महिनादेखि चौकुने गाउँपालिकाको कुनै पनि वडामा यातायात व्यवसायीले यातायातका साधन लिएका थिएनन्।

गत शनिबार पालिकाको दुईवटा टिपरमा अध्यक्ष खड्क विकले गुटुबाट ६० जना यात्रुलाई वीरेन्द्रनगर पुर्याएका थिए।

आइतबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा भएको त्रिपक्षीय बैठकमा पश्चिम सुर्खेतमा यातायातका साधन लिने सहमति भएपछि व्यवसायीले सुर्खेत पश्चिमको अन्तिम गाउँ लगामसम्म गाडी पुगेका हुन्।

बुधबार न्यू सुर्खेत कांक्रेबिहार यातायातको बस लगाम पुगेको हो। विगत तीन महिनादेखि यातायातको साधनबाट बञ्चित भई सास्ती भोग्दै आएका लगामबासीमा खुसीयाली छाएको चौकुने—१ धनरासका जीवन तिरुवाले बताए।

‘पालिकाको केन्द्र गुटुमा त ४२ दिनसम्म गाडी आएन, लगाममा त तीन महिनापछि मात्रै गाडी आयो। बिरामी भए पनि डोकोमा बोकेर लिनुपर्ने बाध्यता थियो,’ तिरुवाले भने, ‘बुधबारदेखि गाडी आएको छ। जसले लगामबासीलाई सहज भएको छ।’

यसअघि ९७५ रुपैयाँ भाडा तिरेर वीरेन्द्रनगर आउने गरेका यहाँका स्थानीय बिहिबारदेखि ८४५ रुपैयाँमा वीरेन्द्रनगर यात्रा गर्न पाउने संयुक्त यातायात लगाम काउन्टरका कर्मचारी राजेन्द्र बान्तोलाले बताए।

उनका अनुसार यसअघि वीरेन्द्रनगर आउन यहाँका नागरिकहरू बेतान, बिजौरा, गुटु हुँदै पञ्चपुरी नगरपालिकाको विद्यापुरसम्म पैदल हिँडेरसम्म आउने गरेका थिए।

चौकुने वडा नम्बर १, २ र ३ का नागरिकहरुले हरेक वर्ष यातायातको सास्ती भोग्दै आएका छन्।

अहिले पश्चिममा नियमित यातायातका साधन आएको र वर्षाका कारण जहाँ बाटो बिग्रियो त्यहाँ पालिकाले बाटो बनाइरहेको अध्यक्ष खड्क विकले बताए।

‘सोमबारदेखि यहाँ निरन्तर गाडी आइरहेका छन्। बुधबार त पालिकाको एकदमै पश्चिममा पर्ने लगामसम्म गाडी पुगेको छ,’ अध्यक्ष विकले भने, ‘यातायातका साधन आएपछि यहाँका नागरिकलाई सहज भएको छ। बाटो तर्फ हाम्रो ध्यान सदैव रहने छ।’

यसअघि सडकको समस्या देखाएर पञ्चपुरी नगरापालिका–९ विद्यापुरबाट अगाडि गाडी पठाउन यातायात व्यवसायीले मानेका थिएनन्।

साउन २४, २०८० बुधबार २१:१६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।