प्रचारका लागि रियालिटी शो धाउँदै फिल्मकर्मी
काठमाडौं : केहि वर्षदेखि फिल्मकर्मीले फिल्म प्रचारको शैली बदलेका छन्।
पछिल्लो समय उनीहरूले मिडिया र नाम चलेको रियालिटी शोलाई पछ्याउँदै प्रचारप्रसारको माध्यम बनाउन थालेका छन्।
यहि क्रममा आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’का कलाकार अहिले विभिन्न टेलिभिजन रियालिटी शोमा केन्द्रित भएका छन्।
मंगलबार यो फिल्मका टिम नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को फाइनलमा टोखा स्टुडियोमा पुगेको थियो।
शोको ग्राण्ड फिनालेमा फिल्मका मुख्य अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सुशिल सिटौला निर्देशक कृषा चौलागाईं लगायत पुगेका हुन्। आयोजक संस्थाका अनुसार ‘मेरो डान्स युनिभर्स’को फाइनल केही सातामा प्रसारण गरिने छ।
विशाल चौलागाईं निर्माता रहेको यस फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।
कमेडी शोमा पनि फिल्मकै प्रचार
चार साता अघि बन्द भएको टेलिभिजन कमेडी शो कमेडी क्लब वीथ च्याम्पियनले पनि फिल्मको प्रचारप्रसारलाई प्राथमिकतामा राखेको थियो।
यस शोमा अन्तिम पटक फिल्म ‘बगान’को टिमले फिल्मको प्रचारप्रसार गरेको थियो। जसमा कलाकार तथा निर्देशक सरोज खनाल,करिश्मा मानन्धर र प्रमिला कार्की पुगेका थिए।
यता मुन्द्रेको कमेडी क्लबमा पनि धेरै जसो फिल्म कै प्रचारप्रसारको माध्यम हुने गरेको छ। फिल्म रिलिज नभएको समयमा भने अन्य कलाकार तथा सेलिब्रेटी गेष्टका रूपमा बोलाउने गरिन्छ।
एक महिनाअघि यो शोमा फिल्म ‘अन्तिम संस्कार’का कलाकार दिया पुन र विजय लामा पुगेका थिए। यो शो बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको छ।
साउन २४, २०८० बुधबार १९:५५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।