हत्या अभियोगमा दुई महिला पक्राउ

हत्या अभियोगमा दुई महिला पक्राउ

रुकुम पश्चिम : जिल्लाको मुसिकोट नगरपालिका–१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मुसिकोट नगरपालिका–१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका–५ टटेला बस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन्।

बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रदेश प्रहरीको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपाल चन्द्र भट्टराईले जानकारी दिए।

उक्त घरबाट चोरी भएका सुनको सिक्री, सुनको तिलहरी, सुनका कानवाली, सुनको चन्द्रमासमेत स्वरूप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

उनीहरूउपर जिल्ला अदालत रुकूम पश्चिमबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

साउन २४, २०८० बुधबार १९:०८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।