भगवती पाण्डेको विषयमा प्रधानमन्त्रीले भने, ‘दोषीलाई कारबाहीको प्रक्रिया अघि बढिसक्यो’

भगवती पाण्डेको विषयमा प्रधानमन्त्रीले भने, ‘दोषीलाई कारबाहीको प्रक्रिया अघि बढिसक्यो’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई कारबाहीको प्रक्रिया अघि बढेको बताएका छन्।

आदिवासी विश्व दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले त्यस विषयमा आफूले प्रहरी प्रमुखलाई राखेर छलफल गरेको समेत जानकारी दिए।

‘भगवती पाण्डेको अभिव्यक्तिबाट संवेदनशीलता पैदा भएको छ, सरकार त्यसमा गम्भीर छ,’ उनले भने, ‘हिजो मात्रै पनि हामीले गृह मन्त्रालय लगायत सम्बन्धित प्रहरी अधिकृतसमेतलाई राखेर घटनाक्रमको समीक्षा गरिएको छ र दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको जानकारी गराउन चाहन्छु।’

यस्तै प्रधानमन्त्री दाहालले सो विषयमा भएको आन्दोलनमाथि प्रहरीले ज्यादती गरेको ठहर आफूले गरेको बताए। महिलाहरुलाई कोठाभित्र लगेर यातना दिने दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढेकोसमेत उनले जानकारी दिए।

आफूले पहिचानको आन्दोलनलाई नेतृत्व गरेको भन्दै उनले आफू आदिवासी जनजातीको पक्षमा निर्णय गरिरहेको बताए।

आफूले १ नम्बर प्रदेशको कोशी प्रदेश हुनुअघि किरात प्रदेश राख्नु उचित हुन्छ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि उचित भोट आफूहरूले नपाएको बताए।

‘सिद्धान्ततः हामी सबै सघैँ छौं, कहिँ न कहिँ रचनात्मक ढंगले निकास निकाल्न हामी प्रयासरत छौँ,’ उनले भने, ‘यदि त्यसो भएन भने ०८४ मा पहिचान पक्षधरलाई मतदान गरिदिनुभयो भने सदनबाटै फ्याट्टै हुन्छ।’

साउन २४, २०८० बुधबार १६:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।