लुम्बिनीमा कोरोनामा किनिएका करोडौंका उपकरण लथालिङ्ग, पीसीआर ल्याबमा वडा कार्यालय

लुम्बिनीमा कोरोनामा किनिएका करोडौंका उपकरण लथालिङ्ग, पीसीआर ल्याबमा वडा कार्यालय

बुटवल : कोरोना महामारीका बेला खरिद गरिएका स्वास्थ्य उपकरण यतिबेला लुम्बिनी प्रदेशका अधिकांश अस्पतालमा त्यत्तिकै थन्किएका छन्।

दक्ष जनशक्ति पनि नहुँदा करोडौं खर्चिएर किनिएका उपकरण अहिले बेकामे बनेका हुन्। 

सरकारले कोराना महामारीको समयमा उपकरण खरिदमा त चासो देखायो। तर जनशक्ति पूर्तिमा उदारता देखाउँदा करोडौं मूल्य पर्ने उपकरण अहिले लथालिङ्ग अवस्थामा छन्।

दाङ, रूपन्देही, अर्घाखाँची, बाँके, प्युठान, रोल्पा, गुल्मी, रुकुमलगायत जिल्लामा कोरोनाको समयमा खरिद गरेका प्रायः सबै उपकरण प्रयोगविहीन भएका छन्। 

रोल्पा जिल्ला अस्पतालमा अहिले पनि दुई वटा भेन्टिलेटर प्रयोगमा आउन नसक्दा अस्पतालमै थन्किएका छन्। अस्पतालकी प्रमुख डा. सबु काफ्लेले भवन अभाव र विशेषज्ञ नहुँदा भेन्टिलेटर सञ्चालन गर्न नसकिएको बताइन्।

‘आईसीयू बेड पनि एउटा कुनामा थन्काएर राखेका छौँ। अब विशेषज्ञ नभए पनि हामी आफैँ तालिम गरेर भए पनि उपकरण चलाउने योजनामा छौँ’, डा. काफ्लेले भनिन्। 

अहिले जिल्ला अस्पतालमा नयाँ दुई तले भवन निर्माणको अन्तिम चरणमा रहेकाले भवन हस्तान्तरण हुनासाथ कोभिडको समयमा खरिद भएका उपकरणहरू प्रयोगमा ल्याउन सहज हुने उनको भनाइ छ। 

५० शय्याको जिल्ला अस्पतालमा अहिले पनि पर्याप्त दरबन्दी र कर्मचारी छैनन्। ११ औं तहको विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालले अहिलेसम्म आठौँ तहभन्दा माथिका डाक्टर छैनन्।

नवौँ र दशौँ तहका जनरल फिजिसियन, पेडियाटिसियन, अब्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरी १० कन्सल्टेन्ट डाक्टरको दरबन्दी रहेको यहाँ एक जना पनि कन्सल्टेन्ट डाक्टर छैनन्।

आठौँ तहका ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको सो अस्पतालमा हाल एक जनाले सेवा दिइरहेका छन्। अस्पतालमा हाल दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। 

दाङको बेलझुण्डीस्थित कोभिड-१९ अस्थायी अस्पतालमा ल्याइएका स्वास्थ्य उपकरण पनि सबै प्रयोगमा आएका छैनन्। ९ वटा भेन्टिलेटरमध्ये केही भेन्टिलेटर अहिले पनि बेलझुण्डीमै राखिएका छन्। 

१५ वटा आईसीयू शय्या राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर राखिएको छ। त्यसबाहेक एक्सरे मेसिन पनि प्रयोगमा आउन सकेको छैन। उक्त मेसिन बेलझुण्डीमै छ। अस्पतालका स्टोर किपर रेश्मीअधकारीले अहिले पनि अधिकांश उपकरण अस्थायी अस्पतालमै राखिएको बताए। 

‘हामीले उपकरण बेलझुण्डीको आयुर्वेद अस्पतालमा दिने वा राप्तीमा आउने हो भन्नेबारे मन्त्रालयबाट टुंगो लगाउन भनेका छौँ। केही उपकरण कोरोनाका समयमा बेलझुण्डीमै दिने भनेर मुख्यमन्त्रीले भन्नुभएको रहेछ। त्यसैले पनि उपकरण त्यहीँ छन्। केही मात्र यहाँ आएका छन्’, उनले भने। 

प्रयोगमा नआएका उपकरण १ करोड बराबरका छन्। बेलझुण्डी कोभिड अस्पताल ०७९ मंसिरबाट बन्द गरिएको छ।

प्रदेशको गौरवको आयोजनाभित्र समावेश गरिएको प्रादेशिक अस्पताल राप्तीमा थप जनशक्ति पठाएर भए पनि सबै उपकरण प्रयोगमा ल्याउने तयारी सरकारको छ।

त्यस्तै प्यूठान जिल्ला अस्पतालमा पनि अहिले कोरोनाको समयमा खरिद गरेका उपकरण प्रयोगमा छैनन्। डाइलासिसका लागि खरिद गरिएको सीआरआरटी मेसिन अस्पतालमै यत्तिकै थन्किएर बसेको छ। अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार कोभिडकै अवस्थामा पनि उक्त मेसिन प्रयोगमा आएको थिएन। 

त्यो मेसिन चलाउने जनशक्ति अस्पतालमा छैन।

‘यो अन्य डाइलासिस मेसिनभन्दा फरक रहेछ। यस्तो मेसिन मिर्गौला प्रयारोपण केन्द्रमा मात्र रहेछ। यहाँ कसरी चलाउने हो कसैलाई थाहा छैन’, उनले भने। 

संघीय सरकारले खरिद गरेर पठाएको मेसिन कहिले चल्छ यसै भन्न नसकिने उनले बताए। कोभिडको समयमा ल्याइएका मोनिटर भने प्रयोगमा आएको उनको भनाइ छ। 

५३ शय्याको अस्पतालमा जम्मा ५४ जनाको दरबन्दी भए पनि हाल २२ जना मात्र स्थायी कर्मचारी छन्। हाल ११८ जना कार्यरत कर्मचारी चिकित्सकमध्ये २२ जनाबाहेक सबै अरू करारका कर्मचारी हुन्। जिल्ला अस्पतालमा मेडिकल अफिसरको दरबन्दी भए पनि चिकित्सक छैनन्।

कुनै बेला अर्थो, सर्जनको राम्रो उपचार हुने जिल्ला अस्पतालमा चिकित्सक नहुँदा अर्थो र सर्जन दुवैको अहिले उपचार हुँदैन। डेलिभरी भने जिल्ला अस्पतालमा हुने गरेको उनले बताए।

अस्पतालमा दैनिक २ सय बिरामी आउने गर्दछन्।

अर्घाखाँची जिल्ला अस्पतालमा पनि अहिले कोरोनाको समयमा खरिद गरिएका २ वटा भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन्। एचडीयूमा अन्य बिरामीहरू राखेको भए पनि जनशक्ति नहुँदा भेन्टिलेटर भने यत्तिकै थन्काएर राख्नुपरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. जगनाथ तिवारीले बताए। 

‘त्यो बेला पनि यो प्रयोगमा आएको हैन। अहिले पनि आएको छैन’, उनले भने। 

पीसीआर ल्याबमा वडा कार्यालय 
कोरोनाको महामारीमा कोरोना चेकजाँच अनिवार्य थियो। त्यसैले गुल्मी जिल्लामा पनि पीसीआर चेकजाँच गर्ने भन्दै ल्याब स्थापना गरियो।

पीसीआर मेसिन ल्याएपछि ०७७ असोज १ मा प्रयोगशाला उद्घाटन भयो। जिल्लामा असोजबाटै नियमित परीक्षण सुरु भयो।

२०७८ सालमा कोभिडको दोस्रो लहरसँगै परीक्षणका लागि एन्टिजेन आएपछि प्रयोगशाला बेकामे बन्यो। अहिले प्रयोगशाला भएको भवनमा रेसुंगा नगरपालिका वडा नम्बर ९ को कार्यालय बसेको छ।

दोस्रो तलामा वडा कार्यालय रहे पनि पहिलो तालामा ल्याबका सामानहरू ताला लगाएर राखिएको छ। वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले अहिले दोस्रो तलामा वडा कार्यालय सञ्चालन गरिएको र पहिलो तलाबाट भएका सामानहरू अन्यत्र लगे कार्यालय सञ्चालन गर्न थप सहज हुने बताए।

प्रयोगशाला निर्माणदेखि पीसीआर मेसिन खरिदमा एक करोड रुपैयाँ खर्च भए पनि अहिले प्रयोगशाला प्रयोगमा छैन। 

अस्पतालका व्यवस्थापक असिम चौधरीले अहिले प्रयोगशालासहित २ वटा भेन्टिलेटर पनि प्रयोगमा नआएको बताए। अस्पतालमा जनशक्ति नहुँदा एक वर्षदेखि दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आईसीयू अलपत्र छ। 

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका  कन्सल्ट्यान्ट चिकित्सक एवं प्रवक्ता डा. पुष्पराज पौडेलले कोरोनाको समयमा खरिद गरेका उपकरणहरू सञ्चालन गर्ने गरी मन्त्रालय अघि बढेको र त्यसका लागि केही अस्पतालमा दरबन्दी थप गर्ने तयारी गरेको बताए।

कोरोनाका बेला लुम्बिनी प्रदेश सरकारले राहतमा ३० करोड, उपकरणमा ३० करोड र अन्यमा १० करोड गरी ७० करोड रुपैयाँ खर्च गरेको डा. पौडेलले बताए। 

साउन २४, २०८० बुधबार १७:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।