सत्ता र प्रतिपक्षको वाद–प्रतिवादपछि २६ गतेसम्मलाई राष्ट्रियसभा बैठक स्थगित

सत्ता र प्रतिपक्षको वाद–प्रतिवादपछि २६ गतेसम्मलाई राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं : एमालेको अवरोधका कारण बुधबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगित भएको हो।

एमाले सांसदहरूले बैठकको आकस्मिक समयमा बोल्ने क्रममा भने अवरोध गरेका थिएनन्।

आकस्मिक समयपछि अन्य कार्यसूची अघि बढाउन खोज्दा एमालको सांसदहरूले विरोध जनाएका हुन्।

एमाले सांसदले उठेर विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले सहज रूपमा सभा सञ्चालन हुनुपर्ने र सबैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए।

त्यसअघि बैठकमा एमाले सांसद बिमला घिमिरेले सुन प्रकरणमा सरकारको छानविन समितिले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसक्ने भएकाले उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने जिकिर गर्नुभयो।

सांसद घिमिरेले सत्तापक्षकै सांसदले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको र अनसन बस्छु भनेर बोलेको धारणा राखेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले आपत्ति जनाएका थिए।

रायमाझीले बोल्दै नबोलेको कुरालाई प्रतिपक्षीले आरोप लगाएको भन्दै रेकर्ड खोलेर हेर्न माग गरे।

सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच वाद–प्रतिवाद भएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सहज रूपमा बैठक सञ्चानल गर्न आग्रह गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते शुक्रबार बोलाइएको छ।

साउन २४, २०८० बुधबार १६:२९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।