मनसुन थप सक्रिय, अझै केही दिन वर्षा हुने

मनसुन थप सक्रिय, अझै केही दिन वर्षा हुने

काठमाडौँ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ।

नेपालमा मनसुनी वायुको असरका साथै बंगलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ। 

'मनसुन थप सक्रिय भएको छ। वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने देखिँदैन', मौसमविद् महर्जनले भन्नुभयो। काठमाडौँ उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ। मंगलबार बिहान काठमाडौँमा भारी वर्षा भएको थियो। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ। मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ। 

अहिले काठमाडौँको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। 

साउन २४, २०८० बुधबार १३:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।