‘उपहार’को विवाद सकियो, फिल्मको कथा-पटकथामा सुलक्षणकै नाम राखिने

‘उपहार’को विवाद सकियो, फिल्मको कथा-पटकथामा सुलक्षणकै नाम राखिने

काठमाडौं : अभिनेत्री रेखा थापाले बनाउन लागेको फिल्म ‘उपहार’को विवाद साम्य भएको छ। फिल्मका कथाकार सुलक्षण भारती,निर्देशक ज्ञानेन्द्र देउजा र रेखा थापाबीच छलफलपछि समाधान भएको हो। 

मंगलबार उनीहरूबीच कथा, पटकथा र संवाद लेखक भारतीलाई नै दिने कुरामा सहमति भएपछि फिल्मको विवाद सकिएको हो। 

सोमबार कथाकार भारतीले आफूले लेखेको कथामा बिनापारिश्रमिक काम गर्न खोजेको भन्दै निर्माण टिमप्रति आक्रोशित बनेका थिए।

उनले सामाजिक सञ्जालमार्फत फिल्मका निर्देशक ज्ञानेन्द्र र निर्मात्री तथा अभिनेत्री रेखालाई लक्षित स्टाटस लेख्दै 'मेरो वान लाइन वा कथामाथि अनुमति र पारिश्रमिकबिना काम गर्नु खोज्नु कत्तिको न्यायोचित होला' भन्दै प्रश्न गरेका थिए। 

उनीहरूबीच फिल्मको विवादले उग्र रूप लिएपछि मंगलबार फिल्मको निर्माण टिम बसेर छलफल गरेको हो। 

कथाकार भारतीले रेखा र ज्ञानेन्द्रसँगको छलफलमा कथा पटकथा र  संवादमा आफ्नो नाम उल्लेख गर्ने भनी सहमति भएको बताए। उनले यस विषयलाई यतै टुंग्याउने सल्लाह निर्माण टिमसँग भएको जानकारी दिए। 

पारिश्रमिकको कुरामा पनि सहमति भएको बताए।

उनले भने,‘खासमा कन्सेप्टको पैसा पाउनुपर्ने  हो र मेन आइडिया लागि पेमेन्ट गर्नुपर्ने हो भन्ने विषयमा धेरै बहस भयो। र अन्त्यमा मैले मेरो बाँकी पारिश्रमिक उहाँहरूले दिए पनि नलिने भनेर पारिश्रमिकको कुरालाई टुंग्याएँ। म साँच्चिकै सम्झौताको मुडमा थिएँ। र म उहाँहरूलाइ बुझाउन खोजिरहेको थिएँ कि पैसाभन्दा पनि यो संघर्ष मेरो लेखन कथा र अधिकारको थियो।’ 

कथाकार भारतीका अनुसार पछि कुरा बुझेपछि तीन पक्षबीच सहमति भएको हो। 

यता फिल्मका निर्देशक ज्ञानेन्द्रले फिल्ममा आफूहरूको सानो त्रुटि भएको र अहिले सच्याइसकिएको बताए। ‘यो परिवारभित्रको सामान्य मिस अण्डर्स्ट्याण्डिङ (असमझदारी)को कुरा र सामान्य विवाद मात्र थियो। जुन परिवारभित्रै  समाधान भयो। यसमा लहरो तान्दा पहरो खस्ने त्यस्तो केही थिएन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मात्र बुझाइ फरक थियो साथै। सबैका आ-आफ्नै कर्तव्य र बुझाइमा घटीबढीको अवस्था थियो। परिवारभित्रै छलफलमा मिलाइयो।

निर्देशक देउवाले कथाकार भारतीलाई फिल्म ‘उपहार’टिममा समावेश गरिएको जानकारी दिए। 

फिल्म निर्माण पक्षले फिल्ममा लेखकका रूपमा अभिमन्यु निरवीलाई राखेको थियो। यस विषयमा कथाकार भारतीले आफ्नो कथा भए पनि कथामा क्रेडिट नभएको आरोप लगाएका थिए।

यस फिल्ममा मुकुन भुसाल, पूजा शर्मालगायत कलाकार अनुबन्धित भइसकेका छन्। फिल्म रेखा फिल्म्स र निर्देशक देउजाको कपनगढी सिनेमाको संयुक्त ब्यानरमा बन्न लागेको हो। 

नेपाली सिने क्षेत्रमा रेखा यसै फिल्मबाट पाँच वर्षपछि कमब्याक गर्दैछिन्। फिल्मको छायांकन भदौको पहिलो साताबाट हुने निर्माण पक्षले जानकारी दिएको छ। 

रेखा थापाको फिल्म ‘उपहार’ बौद्धिक चोरीको विवादमा फस्यो, कथा आफ्नो भएको सुलक्षणको दाबी

साउन २४, २०८० बुधबार १३:१२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।