शौच गर्न गएका बालकलाई बाढीले बगायो, बाढीमा दाउरा निकाल्न जाँदा दम्पती बेपत्ता
धनुषा : मंगलबार धनुषाको मिथिला नगरपालिका-२ बसही खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने कमला खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो। स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो।
बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए। खोलामा बालक डुबेको खबर पाउनासाथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो।
उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्याए पनि गम्भीर अवस्थाका यादवको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए। यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।
त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक महिला र एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका-७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन्।
कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।
साउन २४, २०८० बुधबार ०८:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।