आज पनि भारी वर्षाको सम्भावना, कोसी र मधेशमा हावाहुरीसमेत आउने

आज पनि भारी वर्षाको सम्भावना, कोसी र मधेशमा हावाहुरीसमेत आउने

काठमाडौँ  : देशका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागले आज राति देशभर सामान्य बदली रहने जनाएको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ। कोसी र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षयको सम्भाना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ। जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागको भनाइ छ।

नेपालमा हाल मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ।

त्यसैले अझै कम्तीमा तीन-चार दिनसम्म वर्षाको क्रम जारी रहने मौसमविद् सञ्जिव अधिकारी बताउँछन्।

साउन २४, २०८० बुधबार ०७:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।