महावीर पुनलाई गृहले सम्झायो कानुन, लिलाम गर्न चाहेको पदवी रद्द हुने

महावीर पुनलाई गृहले सम्झायो कानुन, लिलाम गर्न चाहेको पदवी  रद्द हुने

काठमाडौँ : महावीर पुनले लिलामीमा राखेको मानपदवी उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय रद्द हुने भएको छ।

सरकारले दिएको मानपदवी लिलामी वा धरौटीमा राखे सरकारले रद्द गर्ने कानुनअनुसार पुनले पाएको पदवी मन्त्रालयमा फिर्ता जाने भएको हो।

पुनले सामाजिक सञ्जालमा आफूले पाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानपदवी लिलामी गरेर त्यसबाट आउने रकम राष्ट्रिय आविष्कार केन्द्रमा खर्च गर्ने घोषणा गरेका थिए।

गृह मन्त्रालयले पुनलाई पत्र पठाएर विभूषण ऐन, २०६४ को समेत दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ जानकारी गराएको छ।

पत्रमा कानुनबमोजिम कुनै विभूषण रद्द गरिएमा विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्ने कानुनी व्यवस्था रहेको उल्लेख छ।

'यस्तो कानुनी प्रावधान विपरीत यहाँ जस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट त्यस प्रकारको गैर कानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त छ' पत्रमा भनिएको छ' अतः यहाँलाई उद्धृत गरी सम्प्रेषण गरिएको उक्त पोस्टको आधिकारिकता पत्ता लगाउन तपाईँको समेत सहयोग अपेक्षित छ।'

पुनले पत्र पठाएर कानुनबारे जानकारी गराएकोमा धन्यवाद दिँदै कानुन अनुसार नेपाल सरकारले दिएको मानपदवी गृहमा फिर्ता जाने तर अन्तर्राष्ट्रिय पदक बिक्री गर्न कानुनले नरोकेकोले लिलाम गर्ने उल्लेख गरेका छन्।

साउन २४, २०८० बुधबार ००:१८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।