त्रिभुवनले विद्यालयलाई दानमा दिएको फर्पिङको 'स्वर्गको बगैँचा' खण्डहर बन्दै, नेपाल ट्रस्टको स्वामित्वमा आउँदा बेहाल

त्रिभुवनले विद्यालयलाई दानमा दिएको फर्पिङको 'स्वर्गको बगैँचा' खण्डहर बन्दै, नेपाल ट्रस्टको स्वामित्वमा आउँदा बेहाल

काठमाडौँ : ९१ रोपनी १२ आनामा फैलिएको, धेरै टाढा पनि हैन काठमाडौँबाट। फर्पिङमै हो। फर्पिङ पोस्ट नपुग्दै अगाडि ठूलो चौरको दायापट्टि दुईटा सिंह बसिरहेको ठूलो गेट  झट्ट हेर्दा कुनै किताबमा पढिएको दरबारजस्तै देखिने संरचनाको  गेटमै ठूलो अक्षरमा लेखिएको छ-त्रिभुवन आदर्श आवासीय माध्यमिक विद्यालय'।

काठमाडौँको भित्री बस्तीमा संकुचित बन्दै गएको विद्यालयमा हुर्किएकाहरुका लागि यो छक्क पार्ने संरचना हो।  

बाहिरको कम्पाउण्डबाट मात्र हेर्दा केही नदेखिए पनि गेटमै 'स्वर्गको बगैँचा' लेखिएको छ। बाहिरबाट पहिलो पटक हेर्दा यो पनि स्कुल हो र !' भन्ने लाग्छ।

गेट भित्र छिरेपछि साँच्चिकै कुनै बगैँचामा छिरेजस्तै लाग्ने। आँप, लिच्ची, अम्बा, नासपातीलगायत थुप्रै फलका रूखहरू। विभिन्न फूलहरूले गर्दा विद्यालय परिसर साँच्चिकै सुन्दर बगैँचा झैँ। 

त्यति धेरै वनस्पति भएको ठाउँमा चराचुरुंगी नहुने कुरै भएन। उनीहरूको चिरबिरले त झन् स्वागत गरेझैँ लाग्छ। उकेराकर्मी साउनको मौसममा विद्यालय पुग्दा विद्यार्थीहरू भित्र-बाहिर गर्दै थिए।

२००८ सालमा स्थापना भएको विद्यालय नेपालकै पहिलो 'बोर्डिङ स्कूल' को रुपमा परिचित थियो। सहरी क्षेत्रमै पनि केहिले 'बोर्डिङ' भनेर निजी तथा संस्थागत विद्यालयलाई बुझ्ने गर्छन्। तर, यो विद्यालय निजी वा संस्थागत पनि हैन।

त्यसको आर्थिक अनि भौतिक अवस्था भने बेहाल।  

बेलाबेला रंगरोगन हुँदै आए पनि विद्यालय भवन दरबारको ढाँचामै छ।  काठको संरचनाहरू भने मक्किसके। भित्ताहरू चर्किसकेका छन्। पानीले गर्दा ती चिसोले ढाडिएका देखिन्छन्।

भूकम्पले पनि विद्यालयलाई धेरै क्षति पुर्याएको थियो। यहाँ रातो स्टिकर नै टासिएको पनि थियो। तर, त्यसको मर्मतसम्भार भने अहिलेसम्म भएको छैन।

विद्यालयको एउटा कुनामा होस्टेलका लागि प्रयोग हुँदै आएको सानो भवन त प्रयोग नै गर्न नमिल्ने अवस्थामा पुगेपछि बन्द नै गरेर राखिएको छ। 

संकटकालमा सेनाहरू यहाँ बस्न आएका र पछि त्यो त्यत्तिकै रहेको विद्यालयका प्रधानाध्यापक नवीन अमात्यले बताए।

'हामीले विद्यालय पुनर्निर्माण र मर्मत गर्न सबै निकायसँग कुरा गरिसकेका छौं। तर, अहिलेसम्म केही पनि भएको छैन। निकै पुरानो संरचना भएकाले झन् झन् बिग्रिँदै गएको छ,' उनले भने। 

‘स्वर्गको बगैँचा' यसरी बन्यो विद्यालय

निकट पात्र सत्यनारायणबहादुर श्रेष्ठले विद्यालय स्थापना गर्न चाहना राखेपछि तत्कालीन राजा त्रिभुवन शाहले आफ्नो जन्मदिनको अवसरमा यो दरबार दान दिएका रहेछन्।विद्यालयको रूपमा सञ्चालन हुनुअघि यो 'गृष्मकालीन दरबार' को रूपमा थियो। नेपाल एकीकरणका युद्धबहादुर शाहलाई थुनामा राखिएको भवन अहिले पनि त्यही संरचनामा छ। 

जन्मदिनमा आदर्शस्वरूप विद्यालयलाई दरबार दान दिएको हुँदा विद्यालयको नाम पनि त्रिभुवन आदर्श मावि रहन गयो। त्यस दिनदेखि अहिलेसम्म आरोहअवरोह गर्दै सञ्चालनमा आइरहेको ऐतिहासिक विद्यालयले पछिल्लो समय भने निकै चुनौती भोगीरहेको छ।

गर्मी छल्न काठमाडौँको करिब २० किलोमिटर पर दक्षिण-पश्चिममा राजपरिवार यहीँ नै समय बिताउन आउने गर्थे। त्यही भएर होला दरबारको नाम नै ‘स्वर्गको बगैँचा' राखियो।  नाम स्वर्गको बगैँचा त राखियो। मौसम त स्वर्ग जस्तै नै छ। टाढा पनि हैन काठमाडौँबाट। उचित ब्यवस्थापन हुन सक्ने हो भने शैक्षिक केन्द्रको स्वर्ग हुन पनि सक्छ। तर व्यवस्थापन हुन नसक्दा बेहाल देखियो।

ट्रस्टको छायामा नासिदै विद्यालय 

विद्यालयको गेटबाहिर करिब २३ रोपनी चौर छ। त्यसबाहेक विद्यालय रहेको ६८ रोपनी १२ आना जग्गा भने विद्यालयको नाममा छैन।

नेपाल ट्रस्टको ऐन बनेसँगै तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारसहितको जग्गा ट्रस्टको स्वामित्वमा स्वतः गयो। त्यसैबेला यो विद्यालय पनि ट्रस्टअन्तर्गत परेको भन्दै चिठी आयो। तर, त्रिभुवनले दानमा दिएको जग्गा कसरी उनको नातिको नाममा गयो ? भन्ने खुलेन। अझै खुलेको छैन।

जब जग्गा ट्रस्टअन्तर्गत गयो विद्यालयको दुर्दिन शुरु भयो। ट्रस्टको स्वामित्वमा गएपछि आइरहेको सहयोग पनि रोकियो। अहिले न स्थानीय सरकारले चासो दिन्छ न प्रदेश वा केन्द्रले नै। 

'आफै मर्मत गर्न विद्यालयसँग पर्याप्त स्रोत छैन। स्थानीय र केन्द्रीय सरकारकै भरपर्नु पर्ने अवस्था छ। नगरपलिकालाई हामीले करिब पाँच वर्ष अगाडि नै निवेदन दिएका थियौं। त्यो बेला विभिन्न बैठक पनि बस्यो। फिल्ड भिजिटहरू पनि भयो। तर, मर्मतको काम केही पनि भएन,' प्रधानाध्यापकले भने।

भुकम्पमा क्षति पुगेपछि पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरणलाई पनि निवेदन दिएका रहेछन्। तर, ट्रस्टसँग जोडिएको रहेछ भनेर प्राधिकरले केही नगरेको उनले गुनासो गरे।

प्रदेशका तीन ठाउँमा बहुप्राविधिक विद्यालय खोल्ने कार्यक्रम आएको समयमा एउटा यहाँ खोल्न विद्यालयले ज्ञापन पत्र पनि दिएको रहेछ। तर कार्यक्रम परेन।

विद्यालयको पुरानो शिक्षकको ९५ औं जन्मदिनमा विद्यालय परिसरमै कार्यक्रम राख्दा स्थानीय सरकार, प्रदेश सरकार र शिक्षा मन्त्रालयकै प्रतिनिधिको अगाडि समस्या सुनाउँदा पनि केही प्रतिक्रिया नआएको अमात्यले बताए।

'त्यही दिनमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललेले ट्रस्टबाट छुटाएर ल्याउनुस् परेको बेहोरौँला भन्नुभयो। अरू केही भन्नुभएन। उहाँ त हाम्रै पूर्वविद्यार्थी पनि हो।' 

वास्तै छैन ट्रस्टलाई

ट्रस्टको ऐनअनुसार शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने नियम छ। उसको स्रोत पनि राम्रै छ। तर ब्यापारिक प्रयोजनबाहेक शिक्षामा खासै चासै दिएको छैन ट्रस्टले। ब्यापारिक हिसाबले महत्वपूर्ण संरचना भाडामा दिँदैमा ब्यस्त छन् ट्रस्टका पदाधिकारी।

आफ्नो सम्पत्ति संरक्षण गर्ने दायित्व पनि ट्रस्टकै हो। तर, त्यहाँ ट्रस्टले केही चासो नदेखाएको देखिएन। 

'हामी पनि त्यहाँ गयौं। उहाँहरू पनि यहाँ आउनुहुन्छ। सरसल्लाह पनि हुन्छ,' अमात्य भन्छन् 'कुरा गर्दा त इतिहास मेट्न दिनुहुँदैन भन्नुहुन्छ। तर, विद्यालयमा केही  भएको छैन।' 

खण्डहर बन्दै गएपछि विद्यार्थी पनि घटे

कुनै समय विद्यार्थीको संख्या ५ सय हाराहारीमा थिए। तर अहिले छैन। सेना बसेको भनेर विद्यार्थीहरू घट्न थालेको अमात्य बताउँछन्।  

अहिले विद्यालयमा तीन सय हाराहारीमा विद्यार्थीहरू छन्। त्यो पनि कम हैन अन्य सामुदायिक स्कुलको तुलनामा।

'तुलनात्मक रूपमा विद्यार्थी संख्या त ठिकै नै हो। सानो क्षेत्रफलमा विद्यालय धेरै भएको र हाम्रो नगरपलिकामा रहेको जनसंख्या अनुसार ठिकै हो,' उनी भन्छन्, 'संकटकालमा आर्मीहरू यहाँ बस्न आएका बेला डर सिर्जना भयो। धेरैले त विद्यार्थीहरू निकालेर लानुभएको थियो। हामीले पनि आस्वस्त पार्न सकेनौँ।' 

त्रिभुवनले दानमा दिएको जग्गा कसरी फर्कियो?

अहिले विद्यालय सार्वजनिक शैक्षिक गुठीअन्तर्गत छ। त्यही भएर शिक्षक दरबन्दी पनि विद्यालयले पाएको छैन। अहिले यहाँ शिक्षक तथा कर्मचारीहरू गरेर लगभग ३९ जना छन्। सबैको व्यवस्थापन आन्तरिक आम्दानीबाटै धान्न परेको अमात्यले बताए।

'२०३७ सालसम्म शिक्षक दरबन्दी थियो। अहिले पनि एक जना पुरानो शिक्षकले त पेन्सन लिराख्नु भएको छ। विद्यार्थीको शुल्कबाट व्यवस्थापन हुँदै आएको छ, यसले नाफामूलक काम गर्दैन। सामुदायिक विद्यालयले नै पनि केही न केही शुल्क त उठाउछ नै,' उनले भने। 

उनका अनुसार पहिला गाविसबाट थोरै सहयोग आउँथ्यो। तर, अहिले नगरपालिकाले पनि भौतिक सामानहरू जस्तै कम्प्युटर, स्टेसनरीहरूबाहेक संरचना मर्मत गर्न पनि सहयोग गरिरहेको छैन।

जग्गा विवादकै कारण धेरै ठाउँमा सहयोगको माग राख्दा पनि केही सहयोग नपाएको कारण विद्यालय व्यवस्थापनमै पनि समस्या हुन थालेको उनले बताए। यसले गर्दा शिक्षक, कर्मचारीहरूले पनि अफ्ट्यारो महसुस गर्न परेको उनको भनाइ छ। 

'त्रिभुवनले दानमा दिएको जग्गा फेरि उहाँकै सन्तानको नाममा त नजानपर्ने। पढाइमा असर नगरे पनि विद्यालय व्यवस्थापनमा हामीले धेरै चुनौतीको सामना गर्नु परिरहेको छ,' उनी भन्छन्, 'यो विद्यालय एउटा ऐतिहासिक विद्यालय हो। हाम्रो नगरालिकाको मात्र नभएर नेपालकै सिंगो इतिहास हो। विद्यालयलाई विद्यालयकै रूपमा रहन दिनुपर्छ। यसलाई मर्न दिनुहुन्न।' 

त्रिभुवनले दानमा दिएको जग्गा कसरी वीरेन्द्रको नाममा गयो ? के भन्छन्, तत्कालीन गाविस अध्यक्ष ? यस्तो अमुल्य सम्पत्तीलाई किन वास्ता गरिरहेको छैन ट्रस्टले आगामि अंकमा।​​​​​

साउन २४, २०८० बुधबार ०८:२८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।