सलोन-केकीको जोडी प्रेमी- प्रेमिका कि दिदी-भाइ!

सलोन-केकीको जोडी प्रेमी- प्रेमिका कि दिदी-भाइ!

काठमाडौँ : फिल्म ‘जय हो’ ट्रेलरको प्रारम्भमा एउटा डायलग छ- ‘माया त्यो हैन जसले मानिसलाई पागल बनाओस्, माया त्यो हो जसले पागललाई मानिस बनाओस्।’

गजब पन्च लाइन हो नि यो।

अब यही पञ्च लाइन फिल्मको निर्माण टिमतिर सोझ्याउने हो भने ‘राम्रो फिल्म त्यो हैन जुन निर्माताले मात्र प्रशंसा गरोस्, राम्रो फिल्म त्यो हो जुन दर्शकले प्रशंसा गरोस्’  भन्न नि सकियो।

कारण फिल्म ‘जय हो’बारे निर्माण टिमले एकोहोरो गरिरहेको प्रशंसा अनि फितलो ट्रेलर।

सलोन बस्नेतका लागि सोलो अभिनय भएको फिल्म चलाउनु नै फलाम चपाउनु बराबर देखिन्छ। सहायक भूमिकामा जमे पनि एकल भूमिका अहिलेसम्म फापेको छैन।

बाल्यकालमा जसरी अनमोल केसीको साथ अनिवार्य थियो उनलाई अभिनयमा पनि कुनै न कुनै अभिनेताको सहयोग चाहिन्छ।

‘जय हो’ मा भने उनी नै लिड रोलमा छन्। अर्पण थापाले उनलाई सघाइरहेको ट्रेलरबाटै देखिन्छ।

पोखरा अनि जोमसोम क्षेत्रलाई समेटेर घुमघाममा बस्ने प्रेम सम्बन्ध र त्यसले ल्याउने उतारचढाव, प्रेम जोडी, बिचमा भाँड्न आउने भिलेन। यही नै देखियो यो फिल्मको कथासार पनि।

ट्रेलरले नै अर्पण केकीको पूर्व प्रेमी भएको खुलाइदिन्छ। फिल्ममा बाँकी ट्विस्ट चाहिँ के होला? केकी अर्पणसँग फर्कने? कि निशा अधिकारी र सलोनको चक्कर चल्ने? यतिसम्मको कथा बुन्ने क्षमता त कहाँ होला र!

सलोनसँग केकीको जोडी त बाँधिदिए निर्माता अनि निर्देशकले। तर ट्रेलर अनुसारकै केमेस्ट्री हो भने प्रेमी-प्रेमीका हैन दिदी-भाइ जस्तो पो देखिन्छ त हो। दर्शकले जबरजस्ती ‘यी प्रेमी प्रेमिकै हुन्’ भनेर बुझिदिनुपर्ने भयो भने त माथिकै पञ्च लाइन काम लाग्ने देखिन्छ फिल्मका लागि पनि।

ट्रेलरमा तीन गीत राखिएको छ। दुई गीतको मेलोडी ठिकठिकै सुनिएको छ। एक गीतमा चाहिँ सलोनले परिवारको सदस्यको फिल्ममा रहर पूरा नगरे कुनमा गर्ने त भनेर रिक्स बढाइदिए जस्तो सुनियो फिल्मको। ट्रेलर हल्का बनाउन त्यसको नमीठो स्वरको पनि योगदान देखियो।

फिल्म शोभित बस्नेतले हैन टेक पौरखी राईले निर्देशन गरेका छन्। निर्देशकको नाम नयाँ भए पनि ट्रेलरको थिम भने शोभित स्टाइलकै छ। निर्देशनमा पनि शोभितै हाबी भएको भए त फिल्मलाई हिट लिस्टमा चढ्न अलि गाह्रै हुनसक्छ।

टिजर, गीत अनि बस्नेत परिवारको मिहेनतले एक खालको हाइप नबनेको हैन फिल्मको। तर ट्रेलरले ती सबै हाइपलाई फिक्का बनाउने भूमिका खेल्यो।

अब पुरानै हाइपमा फिल्मलाई पुर्याउन शोभितसहितको टिम टिकटकमा अलि बढी नै समय लाइभ बस्नुपर्ने हुनसक्छ। यतिकै भरमा हलसम्म दर्शक आउलान् र!

अब दर्शक आए एक्का ट्रायल, नआए दुक्की जुट। किनकी उकेरासँगको संवादमै सलोनले भनिसकेका छन्- ‘फिल्म भनेको जुवा नै हो। के हुन्छ अनुमान गर्न कठिन हुन्छ।’

साउन २३, २०८० मंगलबार १८:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।