संसद्को घण्टी बज्नुअघि नै बार्गेनिङ मिलाउन रुलिङ गर्न सभामुखलाई रविको आग्रह

संसद्को घण्टी बज्नुअघि नै बार्गेनिङ मिलाउन रुलिङ गर्न सभामुखलाई रविको आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले प्रतिनिधिसभाको बैठक बस्ने घण्टी बज्नुअघि नै बार्गेनिङ टुङ्याउन आग्रह गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद् लामिछानेले सदन चल्ने बेलामा नै किन बार्गेनिङ गरिन्छ भन्दै प्रश्न गरेका छन्।

‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए, संसदको समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने र मिलाउनुपर्ने कुरा पहिल्यै किन गर्न सक्दैनन्,’ उनले भने, ‘र हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन, सदन चल्ने बेलामा नै किन गरिन्छ?’

केही दलका नेताले संसदलाई बन्धक बनाएको भन्दै उनले सभामुखलाई संसदको घण्टी बज्नुअघि नै सबै कुरा मिलाउन रुलिङ गर्न आग्रह गरे।

‘सभामुखबाट रुलिङ होस् कि कुनैपनि दिन तोकिएको समय र मितिमा संसद चल्छ भनेर सूचना टाँसेपछि त्यो सदनमा घण्टी बज्नुपर्छ,’ उनले थपे, ‘त्यो घण्टी बज्नुभन्दा अगाडि नै जे–जे कुरा मिलाउनुपर्ने हो मिलाए हुन्छ।’

सभापति लामिछानेले तीन दलका शीर्ष नेताहरू एक ठाउँमा आएर सहमति भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रुपमा बन्न गएको उनले बताए।

‘समाचारमा आएअनुसार संसदीय समितिहरुको पनि भागबन्डा मिलिसक्यो होला, त्यहि भागबन्डा मिलेको भएर पनि आज संसद सहज भएको हुनसक्छ,’ उनले थपे, ‘यदि त्यसो हो भने हामी खुसी छौं, राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रुपमा प्रमुख प्रतिपक्षी बन्न गयो, जसलाई कुनै पनि संसदीय समितिमा ठाउँ छैन तर यसबाट हामी चिन्तित छैनौं।’

साउन २३, २०८० मंगलबार १७:११:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।