सिटिजन लाइफ इन्स्योरेन्सको सेयर बाँडफाँड
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले विदेशमा रहेका नेपालीहरूका लागि जारी गरेको साधारण सेयर बाँडफाँड गरेको छ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले कम्पनीको ११ लाख २५ हजार कित्ता सेयरको बाँडफाँड गरेको हो।
कम्पनीको कुल पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रकम बराबरको १ करोड १२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर प्रतिसेयर एक सय रुपैयाँ अङ्कित दरमा ११४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँको दरमा विदेशमा रहेका नेपालीहरुका खुला गरिएको थियो।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि गत असार ३१ गते देखि साउन १४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको थियो।
१९ लाख ३० हजार ९ सय कित्ता सेयर खरिदका लागि २७ हजार ६३२ जनाबाट आवेदन प्राप्त भएको थियो। जसमा २७ हजार ६२८ जना आवेदकहरुबाट १९ लाख ३० हजार ५७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियो ।
रितपूर्वक आवेदन दिएका मध्ये न्यूनतम् १० देखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८८५ आवेदकहरुलाई माग बमोजिमका १ लाख ५४ हजार ९९० कित्ता तथा ५० देखि २ हजार कित्ता सम्म माग गर्ने १९ हजार ७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
साउन २३, २०८० मंगलबार १५:०७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।