पहिरोका कारण देशका १० स्थानमा सडक अवरोध

पहिरोका कारण देशका १० स्थानमा सडक अवरोध

काठमाडौं : गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ।

पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका-४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुर बकैया गाउँपालिका-११ लामराङस्थित कान्ती लोकपथ तथा भिमफेदी गाउँपालिका-२ ज्यालटारस्थित हेटौंडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड, चितवन ईच्छाकामना गाउँपालिका-६ नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको हो।

यस्तै, पाल्पा तिनाउ गाउँपालिका-३ ड्याम साईड नजिकै सिद्धार्थ राजमार्ग, कैलाली गोदावरी नगरपालिका-४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका-५ गोपालेस्थित भिमदत्त राजमार्ग, काभ्रे रोशी गाउँपालिका-९ नार्के लगायत बिपि राजमार्गको विभिन्न स्थानमा पनि सडक अवरुद्ध भएको छ।

त्यसैगरी, सिन्धुली सुनकोशी गाउँपालिका-२ कमेरेफाटस्थित वीपी राजमार्ग र बागलुङ, बागलुङ नगरपालिका-१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालिगण्डकी करिडोरमा सडक अवरोध भएको हो।

पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

साउन २३, २०८० मंगलबार १४:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।