घुच्चुकमा हानेर कान्छी श्रीमतीको ज्यान लिएपछि श्रीमान् फरार

घुच्चुकमा हानेर कान्छी श्रीमतीको ज्यान लिएपछि श्रीमान् फरार

इलाम : इलाममा एक श्रीमान् श्रीमतीको हत्या गरेर फरार भएका छन्। इलामको सूर्योदय नगरपालिका-२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले आफ्नी कान्छी श्रीमतीको हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार करिब ५० वर्षे पूर्णबहादुरले ४५ वर्षकी श्रीमती डम्बर कुमारी तामाङको गएराति हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो। झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बर कुमारीको टाउको पछाडि पट्टीको भाग (घुच्चुक)मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ। 

राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए।

घटनापछि उनी फरार रहेको प्रहरीको भनाइ छ। हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ।

साउन २३, २०८० मंगलबार १४:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।