एक रातको पानीले काठमाडौंका धेरै क्षेत्र जलमग्न

एक रातको पानीले काठमाडौंका धेरै क्षेत्र जलमग्न

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

भारी वर्षाका कारण उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

उनले डुबान भएका क्षेत्रमा प्रहरीको टोली बिहानैदेखि खटिएको र सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको बताए।

भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ।

विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको प्रहरीले जनाएको छ।

साउन २३, २०८० मंगलबार ११:५८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।