काठमाडौँ उपत्यकामा भारी वर्षा : नदी किनार आसपास सतर्क रहन आग्रह

काठमाडौँ उपत्यकामा भारी वर्षा : नदी किनार आसपास सतर्क रहन आग्रह

काठमाडौँ : संघीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ। 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ।

यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यसैबीच काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार बिहान ६ः०० बजे काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ।

जसका कारण  विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। काठमाडौँमा आज बिहानैदेखि वर्षा जारी रहेको छ।

 

साउन २३, २०८० मंगलबार १०:१५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।