पहिरोले काठमाडौँ उपत्यका छिर्ने दुई नाका कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध

पहिरोले काठमाडौँ उपत्यका छिर्ने दुई नाका कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध

काठमाडौँ : मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन्।

पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका-२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा-भैसे-भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा पहिरोका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राति वर्षा भएका कारण पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

त्यस्तै गए राति नै मकवानपुरको बकैया-११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा प्रहरीले पहिरो हटाउन सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए।

साउन २३, २०८० मंगलबार ०८:२८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।