सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न सीआईबीलाई ७ दिनको म्याद थप

सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न सीआईबीलाई ७ दिनको म्याद थप

काठमाडौँ : सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई जिल्ला अदालतले पहिलो पटक ७ दिनको म्याद थपेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संगठित अपराधमा अनुसन्धान सुरु गरेसँगै उनीहरूलाई पक्राउ परेको १९ दिनपछि जिल्ला अदालतमा लगिएको हो।

यसअघि राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्दा उच्च अदालत पाटनमा उपस्थित गराइएको थियो। उच्च अदालतले पछिल्लो पटक १५ दिनको म्याद दिए पनि अबदेखि सीआईबीले अनुसन्धान गर्ने भन्दै उनीहरूलाई बुझाइएको थियो। 

संगठित अपराधमा ६० दिन र राजश्व छलीमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाउँछ।

सुन प्रकरणमा पक्राउ परेका १७ जनालाई सीआईबीको हिरासतमा नअटेपछि प्रहरीका चार वटा हिरासतमा राखिएको छ। प्रहरी वृत्त दरबारमार्ग, महाराजगञ्ज, कमलपोखरी र सोह्रखुट्टेमा राखिएको छ।

सीआईबीले यसअघि बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेकालाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सुन प्रकरणमा पक्राउ परेका समेत जिम्मा लगाउँदा हिरासतमा नअटेका हुन्।

सुन प्रकरणमा पक्राउ पर्नेहरूमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई रहेका छन्।

यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका छन्।

तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए।

तर सुब्बा क्यान्सरको बिरामी भएकाले छाडिएको छ।

चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पनि पक्राउ परेका छन्। उनीहरूलाई यसअघि ललितपुर परिसर र सानेपा प्रभागको हिरासतमा राखेर राजस्वले अनुसन्धान गरिरहेको थियो।

 

साउन २३, २०८० मंगलबार ०८:१६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।