विष्णुमती, धोवीखोला, मनोहरालगायत खोला छेउछाउकालाई सतर्क रहन आग्रह

विष्णुमती, धोवीखोला, मनोहरालगायत खोला छेउछाउकालाई सतर्क रहन आग्रह

काठमाडौं : काठमाडौँ उपत्यकालगायत देशभरका केही स्थानमा विगत २४ घण्टायता भारी वर्षा भएको छ। वर्षाका कारण जलसतह बढेकाले बाढीको जोखिम पनि बढेको छ। 

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ। विष्णुमती, धोवीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

त्यस्तै बागमतीको पधेरादोभान कर्मैया (सर्लाही) जलमापन केन्द्रमा जलसतह खतरा  तह पार गरेकाले रौतहट र सर्लाहीका बागमती नदी  तटी क्षेत्रमा हुनेहरूले आज बेलुकासम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाले जनाएको छ। 

पछिल्लो ६ घण्टामा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास अति भारी वर्षा भएको छ र थप हुने देखिएको छ। कोखाजोर खोला, मरिन खोला र आसपासका स-साना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ। 

यस्तै बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह ९६.८० मिटर पार गरेको र बढ्दो रहेको जनाइएको छ। बर्दियाको बबई तटीय क्षेत्रमा  हुनेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता साथ सुरक्षति रहन अनुरोध गरिएको छ। 

सिन्धुली जिल्ला भएर बग्ने कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनुहुनेहरूले बिहानसम्म सतर्कता अपनाउन भनिएको छ। 

यस्तै आज राति पछिल्लो ३ घण्टामा दाङको लमही, भालुबाङ, कुसुम र आसपास अति भारी वर्षा भएकोछ। पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने, साथै यसका सहायक नदीहरूको जलसतह एक्कासि बढी आकस्मिक बहाव हुन सक्ने रहेकोले नदी तटीय क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

साउन २३, २०८० मंगलबार ०७:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।