काठमाडौँलाई विश्वकर्माको मूर्ति चिनाएका पुरन भन्छन्, ‘मधेशी’ भनेर हेप्यो, आमाबहिनीको गाली दिएपछि पिँट्दिएँ

काठमाडौँलाई विश्वकर्माको मूर्ति चिनाएका पुरन भन्छन्, ‘मधेशी’ भनेर हेप्यो, आमाबहिनीको गाली दिएपछि पिँट्दिएँ

आफ्नो कामको माग बढेपछि पुरन पण्डित अहिले निकै खुसी छन्। उनको शरीरमा फुर्ती पनि निकै बढेको छ। 

त्यसमाथि नजिकिँदै गरेको चाडबाडले पनि उनको व्यस्तता निकै बढेको छ। 

कुनै समय लुकीलुकी 'बाबा विश्वकर्मा'को मूर्ति बेच्न परेको दिन भने उनी हत्तपत्त सम्झिन चाहँदैनन्। तर, अहिले भने मान्छेजत्रै आकारका मूर्तिहरू बेच्न पाउँदा उनी दंग छन्। 

सिरहा जिल्लाको लहान बजारमा जन्मिएका पुरन २०३६ सालमा काठमाडौँ आए। साथीको कुरा सुनेर यहाँ त आए, तर के गर्ने हो उनले केही मेसो पाएनन्। 'मधेशबाट फाट्टफुट्ट मान्छेहरू त आउँथे। तर, उनीहरू यहाँ चाडबाड पनि मनाउँदैन थिए। कामको सिलसिलामा यहाँ आएँ,' पुरन भन्छन्, 'तर चाडबाडमा भने गाउँ फर्किनेहरू धेरै हुन्थे। त्यसमाथि मधेशीलाई गर्ने व्यवहार राम्रो थिएन।' 

त्यही भएर उनले यहाँ (काठमाडौँ) कहिल्यै बाबा विश्वकर्माको मूर्ति नै देखेनन्। 

अनि उनले बाबा विश्वकर्माको दुई वटा मूर्तिचाहिँ बनाए। कहाँ गएर बेच्ने, कसलाई बेच्ने उनले केही मेसो पाएका थिएनन्। त्यसलाई उनले कोठामै राखे। त्यसपछि उनले जेजे काम पाउँथे गर्दै जान थाले। सातदोबाटोमा उनकी घरबेटी एकल महिला थिइन्। पुरनका अनुसार त्यतिबेला उनले त्यो घर बेच्न खोजेकी थिइन्। मूल्य पनि ९ हजार रुपैयाँ मात्र थियो। तर, पुरनले गाउँमै घर भएकाले घरबेटीको प्रस्ताव अस्वीकार गरे। 

'मैले त्यति बेला डुबायो। किनभने भाग्यले साथ दिएन। ९ हजारमा घँडेरी दिएको थियो। अहिले अर्बौँको सम्पत्ति भएको छ,' उनले सम्झिए, 'त्यसबेला मधेसी भनेर निकै हेप्थे। कतिलाई लुट्थे। त्यही भएर यहाँ घर नै किनेर बस्ने मन भएन।'

उनले साइकलमा राखेर फलफूल पनि बेचे। त्यसबेला काठमाडौंका धेरै केटाहरूले उनले बेच्न राखेको फलफूल त्यत्तिकै झिक्दै खाइदिने गर्थे, पैसा पनि दिँदैनथे। 'अनि उल्टै गाली गरेर जान्थ्यो,' उनले त्योबेलाको दुःख सम्झिए।

'मधेसी भनेर हेपेपछि मैले पिटेँ'

एकदिन सातदोबाटो चौकी अगाडि शनिबारको दिन उनी फलफूल बेचिरहेका थिए। शनिबार भएको कारण निकै भीडभाड पनि थियो। त्यो बेला गाडी धेरै नगुड्ने समयमा गाडी पर्खिँदा पनि धेरैले फलफूल किनेर लानेको गरेको उनी सम्झिन्छन्।

त्यो बेला काश्मिरी स्याउ काठमाडौँमा खुबै भित्रिने गरेको उनले बताए। 'त्यस बेला एउटा लफंगा केटा आयो। उसले मलाई गाली गर्यो। मैले बर्दास गरेँ। तर, उसले फेरि आमाबहिनीको गाली दियो। मैले उसलाई कुटेँ। उसले पनि मलाई कुट्न लाग्दै थियो। पुलिस आइहाल्यो। उसलाई २४ घण्टा थुनाएको।'

ती व्यक्ति नेपाल आर्मीको रहेको उनले सुनाए। 

त्यसपछि भने त्यो एरियामा पुरनले गाली खाएनन्। तर, तँलाई मार्छु, काट्छु भन्ने धम्की उनले धेरै सुने।

उनले दूरसञ्चार र सडक विभागअन्तर्गत पनि काम गरेका रहेछन्। तार भूमिगत गर्न खन्ने र पाइप हाल्ने काम गरेको उनले सुनाए। आफ्नो गाउँबाट कामदार लिएर काम गर्ने जिम्मासमेत पाएको उनले सुनाए। 

तर, दुई वर्ष काम गरेपछि पनि तलब नबढाएकाले उनले त्यो छाडे। 'नत्र मलाई सडक विभागमा थाई काम (स्थायी काम) पाएको थियो। चार-पाँच हजारमा मलाई के नै आउँथ्यो र ! बुटवलसम्मको काम गरेँ। त्यसपछि बर्खा पनि लाग्यो अनि त्यो काम गरेन। माटोकै काम गरेको।'

उनका अनुसार त्यो सयमा काठमाडौँ मधेसीहरूलाई निकै हेप्थे। जसका कारण मधेशबाट आएका धेरै नेपाली डराइडराइ काम गर्थे। तर, उनी भने डराएनन्।

धेरैले बाबा विश्वकर्माको पूजा गरे पनि मधेशजस्तो रमाइलो नगर्दा भने उनलाई दुःख लाग्छ। 

पहिलो मूर्ति नै ५ हजारमा बिकेपछि...'

त्यसपछि उनले आफूले विश्वकर्माको मूर्ति बनाउने गरेको बताए। त्यसबेला कालिमाटी, ताहाचलतिर मारवाडी समुदायसँगै मधेशका धेरै मान्छे बसोबास गर्थे। उनले त्यहीँ गएर एउटा मूर्ति बेचे। 'पाँच हजारमा बेचेको काठमाडौँमा पहिलो मूर्ति। त्यो बेला विश्वकर्माको मूर्ति नै कसैले बनाएन। किन्न नै पाइँदैन थ्यो। त्यै भएर मैले महँगोमा बेचेको,' उनले हास्दै भने। 

त्यसपछि उनको अर्को मूर्ति पनि बिक्यो। धुमधामले नमनाए पनि आफ्नो समुदायभित्र भने उनीहरूले रमाइलो गरेर मूर्ति नै राखेर पूजा गर्न थाले। त्यसपछि पुरनको माग पनि बढ्दै गयो। 'मैले चार, सात, चौध, अठार वटासम्म बनाएँ। अहिले त मेरो कारखानामा तीन-चार सय वटा मूर्ति छ,' खुशी हुँदै उनले भने। 

आफ्नो पुर्ख्यौली र जानेको पेशा भएको कारण पनि उनले माटोलाई छोडेनन्। श्रीमतीलाई फलफूल बेच्न लगाएर भए पनि उनी माटोकै काममा व्यस्त हुन थाले। अहिले भने उनले दुर्गा, विश्वकर्मा र लक्ष्मीको मूर्ति पनि बनाउने गरेका छन्। त्यसबाहेक अर्डरअनुसार सबै प्रकारका माटोको सामान बनाउने गर्छन्। 

'बिस्तारै बिस्तारै काम बढ्दै गएको छ। अहिले मिस्त्री पनि राखेको छु। कालिगढहरू पनि खट्छ। आफू पनि खट्छु। कुपण्डोलमा चार वटा कारखाना छ। प्याक पनि छ। दशैँको लागि मूर्ति वैशाखदेखि नै बनाएर राखेको छु। अहिले भ्याइनभ्याई छ,' उनले खुशी हुँदै सुनाए।

पुस र माघबाहेक अरू सबै महिनामा उनको काम हुने गर्छ। कोरोनाले गर्दा भएको लकडाउनमा पनि उनको काम भने रोकिएन। नाफा नभए पनि घाटा भने नभएको उनले सुनाए। 

चाडबाड आयो कि खुसी आयो

अब भदौ र असोज महिनाका लागि उनले सबै तयारी पूरा गर्दै छन्। 'काठमाडौँ उपत्यकामा मधेसीहरू अलि बढेको छ। हाम्रो नेपालीहरूले त्यति धेरै मूर्ति नै किनेर पूजा गर्दैन। हाम्रो मधेसीहरूले हरेक वर्ष नयाँ मूर्ति किनेर पूजा गर्छ,' उनी भन्छन्, 'त्यही भएर अहिले डिमाण्ड त बढेको छ। यसपालि दशैँको लागि डेढ लाखसम्मको मूर्ति बनिरहेको छ।'

उनले अहिलेसम्म बनाएको सबैभन्दा महँगो मूर्ति भने तीन लाख रुपैयाँसम्मको छ। 

तराईभन्दा पनि बढी काठमाडौँमा आफ्नो मूर्तिको माग भएको उनले अनुभव गरेका छन्। 'तराईतिर यसको डिमाण्ड छैन, त्यति। यहाँ बढी हुन्छ। त्यहाँ घरघरै बनाउँछ। माटोको भाडा पनि चाडबाडमा मात्र हो,' उनले भने।

उनले सबै माटो भक्तपुरबाट ल्याउँछन्। उनका अनुसार किलोको सात रुपैयाँ पर्ने माटो टिपको भने १७ देखि १८ हजार पर्न जान्छ। पहिला भने दुइ-तीन हजारमै पनि टिप झार्ने गर्थे। माग बढिरहँदा पनि उनलाई त्यति गाह्रो भएको छैन। 

उनको बाल्यकाल लहानमै बित्यो। 'सानोमा भित्र पहाडमा पनि सबै काम गरेको हो। दिक्तेल भोजपुर, बाग्जिलामा। माटोको छाना बनाउने खपटा। पहिला पहिला चक्रमा बनाउने। यो मेरो पुर्ख्यौली पेशा हो। यो मैले कहीं सिक्न गएको हैन,' पुरन भन्छन्, 'थोरै काम आए  भने सबै आइहाल्थ्यो। हजुरबाबासँगै गरेको सबै। भाँडाकुडा सबै बनाउँछु।' 

पुरन स्कुल जान भने पाएनन्। नपढ्ने भएपछि घरमा यही काम सघाउँथे। अनि बाँकीको ६ महिना भने दिक्तेल, भोजपुर, खोटाङ र सोलुखुम्बुसमेत गएर खपटा बनाउँथे। छ महिनापछि घर फर्कँदा साढे तीन सयजति लिएर आउँथे।बाँकीको समय भने घरमै सहयोग गरेर बिताउँथे। 

हुक्का चिलिम बनाएर माटोमा रमाएँ

सानोमा घरमा कमाएको पैसा भने उनको हातमा कहिल्यै पनि परेन। उनले पहिलोपटक माटोको भाडा बनाएको भने हुक्का चिलिम रहेछ। 'पहिला हुक्का चिलिम खान्थे मान्छेले। मैले चिलिम बनाएर काम सिकेको। माटोको चिलिमको धेरै खपत थियो। आइमाईहरू पनि खान्थ्यो। अनि बिस्तारै गाग्री बनाउन थाल्यो। माटोको भाडाहरू बनाउन थाल्यो। दशैँ तिहार, आयो भने मूर्ति बनाउने भइहाल्यो,' उनले सरासर सुनाए। 

१६ वर्षसम्म ६ महिना बाहिर र बाँकी ६ महिना घरमै काम गरेर उनले बिताए। 'भित्री पहाडमा नचिनेको मान्छे छैन मलाई। भित्र पहाडमा गएर एक-एक छाक खायो भने पनि मेरो जीवन जान्छ। त्यति चिनजान बनाएको छु,' उनले हाँस्दै सुनाए। 

अहिले पुरन ६१ वर्ष लागे। सबैभन्दा सजिलो काम नै उनलाई माटोको लाग्यो। भन्छन्, 'यो काम मलाई गाह्रो लाग्दैन। जिउ पनि हल्का हुन्छ। रोगले पनि मेरो जिउ भेट्दैन। दुइ चार वर्षमा ज्वरो आएको जस्तो हुने हो। त्यो पनि छिट्टै निको हुन्छ।'

पहिला तराईमा प्रशस्त जग्गा भए पनि सबै दाइहरूले लिएपछि उनको भागमा भने घँडेरीबाहेक केही बाँकी बचेन। 

त्यही घँडेरीमा उनको ठूलो छोरा बस्दै आएका छन्। बाँकी परिवार भने अहिले सबै यतै छन्। उनका छोराहरूले भने माटो नछोएकोमा उनको गुनासो पनि छ। तर, पनि जति सकिन्छ त्यति यही पेसामा बिताउने उनको धोको छ। 'अब बुढेसकाल लाग्यो। हेरौँ छोराहरू केके गर्छ। कारखाना बनाइसकेँ। लौरो टेक्ने भएपछि पनि मान्छे राखेर खान त सक्छु। त्यसको पीर छैन। छोराहरू गाडीको काम गर्छ। श्रीमतीले मलाई काममा सहयोग गर्छ। त्यतिमै चित्त बुझेको छ,' उनले टुंग्याए। 

साउन २२, २०८० सोमबार २१:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।