कर्णालीमा बलात्कारको घटना धेरै, डोल्पामा आत्महत्या शून्य

कर्णालीमा बलात्कारको घटना धेरै, डोल्पामा आत्महत्या शून्य

सुर्खेत : कर्णाली प्रदेशमा महिलाविरुद्धको अपराधमा सबैभन्दा धेरै बलात्कारको घटना देखिएको छ। प्रदेश प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा बलात्कारका २०७ वटा घटना दर्ता भएका छन्।

प्रदेशमा २०७ वटा बलात्कारका मुद्दा दर्ता भएकामा सुर्खेतमा सबैभन्दा बढी ८८ वटा मुद्दा दर्ता भएको छ। डोल्पामा सबैभन्दा कम एक वटा मुद्दा दर्ता भएको छ।

दोस्रोमा एक सय २३ वटा आत्महत्याका घटना, बहुविवाह ७५ तथा अन्य विभिन्न एसिड आक्रामक, जबरजस्त करणी उद्योग, बेचबिखन लगायतका घटनाहरूका रहेका छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा तर्फमा मुद्दा दर्ता ६३९, फर्छ्यौट ३७० भए भने प्रक्रिया २६९ वटा रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा गरेका वार्षिक गतिविधिहरू सार्वजनिक गरेको हो।

गत आर्थिक वर्षमा हुम्लाको सल्ली सल्ला र गोठिल्लाबाडामा दुई, मुगुको माझघट्टमा एक, दैलेखको हाडाकोट र काँसिकाधमा दुई, डोल्पाको फोक्सुन्डो रिग्मामा एक नयाँ अस्थायी प्रहरी पोस्ट स्थापना गरेको कार्यालयले जानकारी दियो।

प्रदेशमा ११ वटा प्रहरी कार्यालयका भवन निर्माणाधीन रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार प्रदेशमा प्रहरी कर्मचारी र अनुपातमा ६ हजार २७९ जना प्रहरी कर्मचारीको जम्मा दरबन्दी रहेकोमा ५ हजार ६०६ प्रहरी कार्यरत छन्। जसमध्ये ५ हजार १९५ जना  पुरुष प्रहरी कर्मचारी र ४११ जना महिला प्रहरी कर्मचारी कार्यरत छन्।

प्रदेशमा आर्थिक वर्ष २०७९-०८० मा १०५ स्थानमा सिसिटिभी जडान गरिएको छ भने ३७८ वटा सिसिटिभी प्रयोगमा रहेका छन्।

कर्णाली प्रदेशमा गत वर्षमा ११४ वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ९९ फर्छ्यौट गरिएको छ भने २१५ जना अभियुक्तहरू पक्राउ परेका छन्।

२०५ ग्राम २७२ मिली ग्राम ब्राउन सुगर, ६८६ ग्राम ८२ मिली ग्राम गाँजा, १६३ ग्राम ९७७ मि. ग्राम चरेस, १७ सी.सी. र एक हजार ६८४ ट्याब्लेट औषधीजन्य लागू औषध बरामद गरिएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

प्रदेशको जाजरकोट, डोल्पा, रुकुम पश्चिम लगायत विभिन्न जिल्लाहरूमा १५१ बिगाहामा लगाएको गाँजा तथा अफिम खेती नष्ट गरिएको विवरणमा उल्लेख छ।

अपराध अनुसन्धान तर्फ एक हजार ५५५ जाहेरी दर्ता भएकोमा एक हजार ७२९ अन्य मुद्दा दर्ता भएको जनाइएको छ । जसमध्ये फर्छ्यौट ९०६ वटा सामान्य, गम्भीर र जघन्य प्रकृतिका कसुरहरू फर्छ्यौट भएका छन् भने एक हजार ४२७ जना पक्राउ भएका छन् ।

प्रदेशमा २७३ जनाले आत्महत्या गरेका छन्। जसमध्ये सुर्खेतमा सबैभन्दा बढी १०९ छन्। जसमा ३९.९३ प्रतिशत छ भने डोल्पा जिल्लामा आत्महत्या भएको छैन।

सल्यानमा ४५, दैलेखमा ४४, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला चार जनाले आत्महत्या गरेका छन्। 

१३५ वटा बैङ्किङ कसुर सम्बन्धी मुद्दा दर्ता भएकोमा १३१ वटा मुद्दा सुर्खेतमा दर्ता भएको छ भने ४ वटा मुद्दा सल्यानमा दर्ता भएका छन्।

प्रदेशभरि ४९ हजार ४२४ वटा कारबाही गरी सवारीसाधनलाई कारबाही गरी तीन करोड ८७ लाख ९१ हजार ५०० राजश्व संकलन भएको छ। जसमा आ.व. ०७८÷०७९ मा ४० हजार ४०४ सवारीसाधनलाई कारबाही गरी ३ करोड ३० लाख ७९ हजार राजश्व सङ्कलन भएकोमा यो आर्थिक वर्षमा १६ दशमलव ६३ प्रतिशत राजश्व संकल वृद्धि भएको छ।

चालु आर्थिक वर्षमा प्रदेशभरि सवारी नियम उल्लङ्घनमा जम्मा ४९ हजार ४२४ वटा कारबाही गरी ३ करोड ८७ लाख ९१ हजार ५०० राजश्व संकलन भएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम तर्फ सचेतनामूलक कार्यक्रम ४ हजार ३४६ गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सुरु गरिएका नवीनतम सृजनात्मक कार्यहरूमा यात्रुमैत्री अभियानमा भई एक हजार ५२१ वटा कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ।

‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ कार्य योजना निर्माण गरी २०८० वैशाख एक गतेदेखि कार्यान्वयनमा ल्याइएको छ। ‘घरघरमा स्टिकर टाँस अभियान’ सुरु गरिएको छ। जसमा एक लाख भन्दा धेरैको घरधुरीमा स्टिकर टाँसिएको छ। 

साउन २२, २०८० सोमबार २०:०३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।