राहुल गान्धी संसद्मा फर्किएपछि काँग्रेस सांसदले खुसी हुँदै मिठाई बाँडे

राहुल गान्धी संसद्मा फर्किएपछि काँग्रेस सांसदले खुसी हुँदै मिठाई बाँडे

एजेन्सी : भारतीय काँङ्ग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएसँगै उनका पार्टीका सांसदहरूले खुसी हुँदै मिठाई बाँडे। भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमाथि गत शुक्रवार रोक लगाएको थियो।

सोमबार भारतको लोक सभाका महासचिवले उनको सांसद पद पुनर्बहाली गरेका थिए। आफ्नो सांसद पद पुनर्बहालीको निर्णय भए लगत्तै गान्धी संसद् भवन गएर परिसरमा रहेको महात्मा गान्धीको सालिकमा फूल चढाएर कांग्रेसका नेताहरू खुसी भएर नाराबाजी गरे भने मिठाइ समेत बाँडे।

यस अगाडि सुरत जिल्ला अदालतले गान्धीमाथि मानहानि मुद्दामा २ वर्षको सजाय सुनाएको थियो। गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय समेत सुनाएको थियो।

सो आदेश लगत्तै लोक सभाले उनलाई सांसद बन्न अयोग्य घोषणा गरेको थियो। चार वर्षअघि लोकसभा चुनावका क्रममा कर्नाटकाको कोलारको भाषणमा राहुलले दिएको ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्तिमा उनी दोषी ठहर भएका थिए।

साउन २२, २०८० सोमबार १८:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।