सीआईबीले बनायो एसपी थापाको नेतृत्वमा सुन प्रकरण अनुसन्धान टिम

सीआईबीले बनायो एसपी थापाको नेतृत्वमा सुन प्रकरण अनुसन्धान टिम

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि टिम बनाएको छ। 

सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाको नेतृत्वमा टिम बनाएको हो। 

केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले सोमबार एसपी सञ्जयसिंह थापालाई यस प्रकरणको अनुसन्धान अधिकृत तोकेकी हुन्। 

आइतबार सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको जिम्मा राजश्व अनुसन्धान विभागले प्रहरीलाई दिएको थियो।

आइतबार पत्रकार सम्मेलन गरेर विभागले यस घटनाको थप छानबिन गर्ने सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको हो भने विभागले पक्राउ परेका सबै आरोपिलाई पनि प्रहरीको जिम्मा लगाइने जनाएको छ। 

सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले घटनाको थप छानबिन र मुद्दा अभियोजनको लागि प्रहरीलाई जिम्मा लगाइएको हो।

गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए। 

गत साउन ३ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार र सुरक्षा जाँच पास गरेर बाहिरीसकेको करिब एक क्विन्टल सुन समातेको थियो।

यसपछि हालसम्म यस विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो। मोटरसाइकलको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसहित १८ जना पक्राउ परिसकेका छन्।

साउन २२, २०८० सोमबार १७:१०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।