पारोसँग खेल्नु अघि मच्छिन्द्रका कप्तान भन्छन् : बर्खाले गर्दा हाम्रो तयारी ढिला भो
काठमाडौं : नेपालको तर्फबाट एएफसी कपको प्रारम्भिक छनोट खेल खेल्न लागेको मच्छिन्द्र फुटबल क्लबले मंगलबार (भोलि) भुटानको पारो फुटबल क्लबसँग भिडन्त गर्दैछ।
पारो भुटानको लिग च्याम्पियन हो भने मच्छिन्द्र नेपालको ए डिभिजन लिगको उपविजेता टिम हो। लिग च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्रले एएफसी कप खेल्न पाएको हो। यो खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ।
एएफसी कपकै लागि भनेर मच्छिन्द्रले लिग खेलेको आफ्नो टिममा अन्य टिमका धेरै नयाँ खेलाडी थपेको छ ।
‘मौसम र बर्खाका कारण हाम्रो तयारी ढिला सुरु भयो। तर हामीले नयाँ खेलाडीहरूलाई टिममा भित्र्याएका छौं। उनीहरुले राम्रो प्रशिक्षण गरिरहेका छन्,’ मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले भने।
उनले पारो भुटानको च्याम्पियन टोली भएकाले सहज रुपमा नलिने र राम्रो नतिजा निकाल्ने बताए।
यो खेल जितेमा मच्छिन्द्रको अर्को चरणमा भेट भारतको मोहन बगान क्लबसँग हुनेछ।
साउन २२, २०८० सोमबार १६:३७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।