आज साउनको चौथो सोमबार : पशुपति लगायत देशभरका शिवालयमा भीड

आज साउनको चौथो सोमबार : पशुपति लगायत देशभरका शिवालयमा भीड

काठमाडौं : साउनको चौथो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

साउने झरीमा रुझ्दै हजारौं भक्तजन बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन्।

साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए।

सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उनले जानकारी दिए। बोल बम यात्री सुन्दरीजलमा शुद्ध जल लिन आइतबार बेलुकी नै वाग्मतीको मुहानस्थल पुगेका थिए।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेको छ। तर यस वर्ष साउन महिनामा अधिकमास परेकाले व्रत बस्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर भने रहेको छ। प्रत्येक वर्ष साउन महिनाको सोमबार नियमित रुपमा गरिने कर्म भएकाले यो व्रत गर्नुहुने विश्वासमा धेरै भक्तजनको शिवालयमा लाम लागेको हो।

आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थान लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

साउन २२, २०८० सोमबार १२:१८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।