ललिता निवास जग्गा प्रकरण : विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा प्रकरण : विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको हो। आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो।

आदेश आएकै दिन जिल्ला अदालतले पनि पूर्वमन्त्रीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा गच्छादारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता गरेको थियो। गच्छदारले उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री भएका बेला सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने प्रस्ताव लगेका थिए।

गच्छदारलाई २०७८ असार ३० गते विशेष अदालतले थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको थियो। 

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज् मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा छोड्न आदेश दिएको थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार मन्त्री हुँदा ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै २२ माघ २०७६ मा मुद्दा दायर गरेको थियो।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको भन्दै गच्छदारसहित १७५ जनाविरुद्ध त्यसबेला अदालतमा मुद्दा दायर भएको थियो।

गच्छदारले भौतिक पूर्वाधार मन्त्री हुँदा ललिता निवासको जग्गामा नक्कली मोहीको सूची मन्त्रिपरिषद्मा पेश गरेका थिए।तत्कालीन उपप्रधानमन्त्री गच्छदार र सचिव दीप बस्नेतले मुआब्जा दिएर अधिग्रहण गरेको र गुठी कायमै नहुने जग्गा कायम गर्न मन्त्रिपरिषदमा पेश गरेका थिए।

उक्त मन्त्रिमण्डलका प्रधानमन्त्री भने माधव नेपाल थिए। नेपालकै मन्त्रिमण्डलले सो प्रस्ताव पारित गरेको थियो।

साउन २२, २०८० सोमबार १०:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।