सर्पदंश केन्द्रको भेन्टिलेटर र आईसीयू सञ्चालन नहुँदा बालकको ज्यान गयो

सर्पदंश केन्द्रको भेन्टिलेटर र आईसीयू सञ्चालन नहुँदा बालकको ज्यान गयो

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।

विषालु करेत सर्पको डसाईबाट चन्द्रनगर गाउँपालिका-५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका छोरा वर्ष १२ का नुरसैद्द अन्सारीको मृत्यु भएको हो।

नुरसैद्द श्रीनगरस्थित मामाघरमा बसेर स्थानीय मदरसामा पढ्थे।

मामाघरमा राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका बालकलाई सुतेकै ठाउँमा सर्पले डसेको स्थानीयले बताएका छन्। बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेका थिए।

शनिबार राति ११ बजेतिर सर्पले डसेपछि बालकलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। उपचार केन्द्रले यहाँ भेन्टिलेटर र आईसीयू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेको थियो। 

जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको थियो। 

साउन २२, २०८० सोमबार ०९:१२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।