विवादित पृष्ठभूमिका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पद

विवादित पृष्ठभूमिका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पद

बुटवल : लुम्बनी विकास कोषको उपाध्यक्षमा विवादित छविका ल्हारक्याल लामा नियुक्त भएका छन्।

ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो।

माओवादी केन्द्रीय सदस्यसमेत रहेका लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायत अभियोगमा पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन्। 

सिन्धुपाल्चोक हेलम्बु घर भएका लामा पूर्वसांसद समेत हुन। उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए। 

२०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए। २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए।

बाल्यकाल शिक्षा हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरेका उनले दक्षिण भारतको कर्नाटक राज्यस्थित मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका थिए। 

लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि सरकारले लामालाई उपाध्यक्षमा नियुक्त गरेको हो।

साउन २२, २०८० सोमबार ०७:४७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।