मन्त्रिपरिषद् विस्तार गर्न नसकेका लुम्बिनीका मुख्यमन्त्रीले सार्वजनिक गरे सयदिने उपलब्धि

मन्त्रिपरिषद् विस्तार गर्न नसकेका लुम्बिनीका मुख्यमन्त्रीले सार्वजनिक गरे सयदिने उपलब्धि

बुटवल : लुम्बिनी प्रदेश सरकार गठन भएको १ सय दिन पुगेको छ। 

तर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका लागि एक सय दिन सुखद् बन्न सकेन। सत्ता साझेदार दल माओवादीको दबाब वरपर मात्र मुख्यमन्त्री चौधरी घुमिरहे। आफ्नै पार्टीभित्रको विवादको सामना पनि उनले गर्नुपर्यो।

आफ्नै पार्टीभित्रको विवादकै कारण एक सय दिन बितिसक्दा पनि उनले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकिरहेका छैनन्। 

८ दलको समर्थनमा मुख्यमन्त्री बनेका चौधरीले बजेट पास भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाए पनि माओवादी र आफ्नै दल नेपाली कांग्रेसभित्र भागबन्डा मिलाउन सकेनन्। 

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले अहिले मन्त्रिपरिषद् विस्तार गर्दा सबैभन्दा बढी आफ्नै पार्टी नेपाली कांग्रेसभित्रका आकांक्षीलाई मिलाउनुपर्ने छ। 

लुम्बिनी प्रदेशमा हाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा गरी जम्मा ३ मन्त्री नियुक्त गर्न बाँकी छ। 

यी ३ मन्त्रालय अहिले पनि मुख्यमन्त्री चौधरी आफैले सम्हालेका छन्। 

तर सत्ता साझेदार दलमध्ये एक कांग्रेसभित्रको किचलो र माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ३ वटै मन्त्रालय पाउनुपर्ने उसको अडान छ। जसका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ। 

सरकार गठन गर्दा वैशाखमै गठबन्धन बीचमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले अर्थमन्त्रीसहित ३ मन्त्री पाउने सहमति भएको थियो। 

हाल कांग्रेसबाट मुख्यमन्त्री चौधरी र स्वास्थ्य मन्त्री राजु खनाल, माओवादीबाट अर्थमन्त्री धनबहादुर मास्की, लोसपाबाट आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोष पाण्डेय सरकारमा छन्। 

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरी, जसपाबाट कृषि तथा भूमि सुधारमन्त्री भण्डारीलाल अहिर र जनमत पार्टीबाट सामाजिक विकास मन्त्री सीके गुप्ता सरकारमा छन्। 

अब बाँकी ३ मन्त्रालय कांग्रेस र माओवादीबीच भागबन्डा गर्नुपर्नेछ। यस्तोमा सहमतिअनुसार माओवादी र कांग्रेसले २/२ मन्त्रालय पाउनुपर्ने हुन्छ। तर मन्त्रालय संख्या जम्मा ३ छ। त्यसैले गठबन्धनभित्र भागबन्डा पुर्याउन मन्त्रालय बढाउनुपर्ने हुन्छ। 

सय दिने उपलब्धि सार्वजनिक

आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका चौधरीले सय दिनमा गरेको कामको फेहरिस्त भने सार्वजनिक गरेका छन्।यो सय दिनमा १७५ किलोमिटर सडक कालोपत्रे भएको, १५० किलोमिटर सडक ग्राभेल गरिएको, १५ वटा पक्की सडक सम्पन्न भएको विवरण मुख्यमन्त्री चौधरीले सार्वजनिक गरेका छन्।

सडक तथा पुलका विभिन्न १५ वटा आयोजनाको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भएर खरिद प्रक्रिया अघि बढेको उनले बताए। त्यस्तै लम्पी स्किनबाट संक्रमण भएका पशुहरूमा खोप लगाउने कार्य पनि सरकारले गरेको दाबी उनले गरेका छन्।

हालसम्म स्थानीय तहसमेतको सहकार्यमा ४४ हजार पशुहरूमा खोप र एक लाख १६ हजार पशुहरूको उपचार गरिएको र थप एक लाख ५० हजार खोप र ६५ हजारलाई उपचार गर्ने व्यवस्था सरकारले मिलाएको उनको दाबी छ। 

त्यस्तै उनले कानुन निर्माणसँगै आर्थिक समृद्धिको आधार तयार पार्नेसम्मका कामहरू सरकारले प्रमुख उपलब्धिको रूपमा लिएको बताए।

साउन २१, २०८० आइतबार २१:५९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।