'सरकारी कर्मचारी हुँ' भन्दै ठगी गर्ने व्यक्ति ललितपुरको ग्वार्कोबाट पक्राउ

'सरकारी कर्मचारी हुँ' भन्दै ठगी गर्ने व्यक्ति ललितपुरको ग्वार्कोबाट पक्राउ
सांकेतिक तस्वीर

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा संलग्न  व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-३ स्थायी घर भएको सत्येन्द्र अधिकारी भन्ने सत्येन्द्रप्रसाद यादव रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। 

उनका अनुसार पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डा तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइदिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा इजरायललगायत देशमा सरकारी कोटामा पठाइदिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहीन भई भएको उजुरीका आधारमा उनलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो। 

यसैगरी यादवले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको ब्लुबुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने यादवलाई ठगीसम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए। 

 

साउन २१, २०८० आइतबार २०:३४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।