सुन मात्रै हैन, त्रिभुवन विमानस्थल भन्सारबाट हतियारसमेत तस्करी भएको दाबी, अनुसन्धान गर्दै प्रहरी

सुन मात्रै हैन, त्रिभुवन विमानस्थल भन्सारबाट हतियारसमेत तस्करी भएको दाबी, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ : सुन तस्करीको सहज बाटोको रूपमा बदनाम त्रिभुवन विमानस्थल भन्सार कार्यालय अवैध हतियार तस्करीमा समेत जोडिएको छ।

भारतीय गायक शिद्दु मुसेवालाको हत्याको अनुसन्धानको क्रममा पक्राउ परेको र फेला परेको हतियारको आधारमा त्रिभुवन विमानस्थल हुँदै पाकिस्तानमा बनेको अवैध हतियार भारतसम्म पुग्ने गरेको दाबी सार्वजनिक भएको हो।

पाकिस्तानको बलुचिस्थानमा रहेको अवैध हतियार निर्माणस्थलमा बनेको हतियार हवाई मार्गबाट नेपाल आउने र नेपालको भन्सारमा उनीहरूले प्रभावमा पारेको नेपाली सरकारी अधिकारीमार्फत हतियार रहेको फलामे बाकस सहजै विमानस्थल भन्सार नाका कटाएर स्थल मार्गबाट भारत पुर्याउने गरिएको भारतीय सुरक्षा अधिकारीको दावी सार्वजनिक भएका हुन्।

भारतको स्पेसल सेलले गायक मुसेवालाको हत्या अनुसन्धानमा जिंगाना पेस्तोल फेला पारेको थियो। अनुसन्धानकोक्रममा सो हतियार बुलन्द सहरको समूह पेस्तोल तस्करीमा संलग्न रहेको र उनीहरूले पाकिस्तानबाट नेपाल हुँदै हतियार भारत पुर्याएको दाबी सार्वजनिक भयो।

भारतको आपराधिक समूह लरेन्स विश्नोइले समेत यो समूहको प्रयोग गरिरहेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै टाइम्सअफ इन्डियाले समाचार लेखेको छ।

यो प्रकरणबारे नेपाल प्रहरीले समेत आफ्नो तर्फबाट अनुसन्धान सुरु गरेको देखियो। भारतीय पक्षले पाकिस्तानबाट हवाईमार्ग हुँदै हतियार नेपाल आउने गरेको र नेपालको विमानस्थलको भन्सारबाट सहजै कटाएर भारत पुर्याउने गरेको उल्लेख गरिएकाले अनुसन्धान सुरु गरिएको प्रधान कार्यालयका एक अधिकारीले उकेरालाई बताए।

'उनीहरूले दिएको जानकारी पूर्ण छैन। पाकिस्तानबाट नेपालमा सीधा हवाई उडानै हुन्न। तर उनीहरू पाकिस्तानबाट सिधा हवाई मार्गबाट नेपाल आएको दाबी गरिरहेका छन्,' अनुसन्धानबारे जानकार स्रोतले भन्यो,' अपूर्ण अनुसन्धान भए पनि गम्भीर विषय भएकाले अनुसन्धान भने भइरहेको छ।'

तीन लाखमा किनेर १० लाखमा बिक्री

भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार दिल्लीमा अदनान हुसेन अन्सारी पक्राउपछि नै हतियार कारोबारबारे खुलेको हो। अन्सारी हजरत मुज्जाहिद्दिन समूहका प्रमुख रहेको दाबी गरिएको छ।

यो समूहका अर्का हुन् मोहम्मद ओवैसी। उनी बुलन्दसहरको व्यक्ति भएको दिल्ली प्रहरीका स्पेसल कमिस्नर एचजिएस धारिवाललाई उद्धृत गर्दै समाचारमा लेखिएको छ।

ओवैसी अनुभवी चालक रहेको र उनलाई हतियार तस्करीको बाटोबारे राम्रो जानकार रहेको समाचारमा उल्लेख गरिएको छ। उनी यस अगाडि बहराइनमा बस्ने गरेका थिए।

तेस्रो शङ्कास्पद अफरोज हतियारको भरिया हुन्। उनीहरूले पाकिस्तानबाट नेपाल हुँदै भारत पुर्याएको एक हतियार शिद्दु मुसेवालाको हत्यामा प्रयोग भएको दाबी गरिएको छ।

उनीहरूले पाकिस्तानमा बनेको हतियार नेपाल हुँदै भारत लगेर दिल्ली उत्तर प्रदेश, हरियाणा अनि राजस्थानमा रहेको आफ्नो समूहका व्यक्तिहरूलाई दिएको समाचारमा उल्लेख छ।

दुबईमा रहेको अन्सारीका काका अनवर कमालको सहयोगमा अन्सारीले काम गर्ने गरेको दिल्ली प्रहरीको दाबी छ। कमालको आफन्त पाकिस्तानको खैवर पख्तुनख्वामा काम गर्छन्।

सेहवाज अन्सारीलाई सन् २०२२ डिसेम्बरमा भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सीले पक्राउ गरेको थियो। स्पेसल सेलका अतिरिक्त कमिस्नर प्रमोद सिंह कुशवाहका अनुसार अन्सारीले दुबइमा रहेका अङ्कललाई हतियारको अर्डर दिने र उनले सोही अनुसार पाकिस्तानमा अर्डर दिन्छन्।

उनीहरूले हवाई मार्गबाट कार्गोमार्फत सो हतियार नेपाल पठाउने व्यवस्था मिलाउने गरेका छन्। नेपालमा हतियार ल्याउन उनीहरूले विशेष प्रकारको फलामको बाकसको प्रयोग गर्ने गरेका कुशवाहको दाबी छ।

उनीहरूले प्रभावमा पारेको भन्सारका अधिकारीको सहयोगमा सो हतियार रहेको बाकस भन्सारबाट सहजै छुटाएर स्थल मार्गबाट भारत पुर्याउने गरेको समाचारमा दाबी छ।

उनीहरूले हतियार पहिला दिल्लीमा लैजाने गरेको र यो वर्ष मात्र नेपालको बाटो भएर चार पटक हतियार दिल्ली पुर्याइएको समाचारमा दाबी गरिएको छ।

भारतमा पक्राउ परेकाहरूसँग केही नेपाली पैसा र नेपालको सिम कार्ड बरामद भएको जानकार स्रोतको दाबी छ। नेपालमा सक्रिय केही शंकास्पदबारे समेत जानकारी आएको छ।

समाचारमा उल्लेख भएअनुसार एक पेस्तोलको तीन लाखसम्म लागत लाग्ने गरेको छ। उनीहरूले आपराधिक समूहलाई १० लाखसम्ममा बेच्ने गरेका छन्।

'यसबारे हामीले गम्भीरतापूर्वक हेरिरहेका छौँ,' नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरले भने', अनुसन्धान अगाडि बढेको छ।'

साउन २१, २०८० आइतबार २०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।