उपभोक्ता समितिको साढे ६ लाख लुटेको आरोपमा वडाध्यक्षसहित ३ जना कारागार चलान

उपभोक्ता समितिको साढे ६ लाख लुटेको आरोपमा वडाध्यक्षसहित ३ जना कारागार चलान

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

आइतबार अदालतका न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले विष्टसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी उज्जवल रावलले जानकारी दिए।

उनका अनुसार डाँका चोरीकै आरोप लागेर अनुसन्धानका क्रममा तानिएका यमराज शाही र सन्तोष थापाबाट अदालतले जनही दुई-दुई लाख धरौटी लिएर रिहा गरेको छ। 

गत असार २० गते वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेका थिए। 

२१ गते समितिका पदाधिकारीले रकम लुटेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। प्रहरीले छलफलका लागि बोलाए पनि विष्टको टोलीले तीन दिनसम्म अटेर गर्दै प्रहरीलाई छलेको थियो।

२३ गते गुरुङ र शाही पक्राउ परेका थिए। असार २४ गते अदालतबाट पक्राउ पुर्जी लिई प्रहरीको विषेश टोलीले विष्टलाई नगरपालिकाबाटै पक्राउ गरेर डाँका चोरी मुद्दा चलाएको थियो। 

लुटेको रकम वडाअध्यक्ष विष्टसहित तीनै जनाले बाँडेका प्रहरीको विस्तृत अनुसन्धान प्रतिवेदनले देखाएको छ। 

‘प्रहरी अनुसन्धानका क्रममा लुटेको ५ लाख ५० हजारमध्ये पाँच लाख अध्यक्ष विष्टले, एक लाख सुशील र ५० हजार बलिराजले लिएको देखिएको थियो,’ जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘सोहीअनुसार हामीले विस्तृत प्रहरी अनुसन्धान प्रतिवेदन बुझाएका थियो।’ 

कहिले मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेर त कहिले वडासदस्यसँग विवाद गरेर चर्चामा आइरहने विष्ट स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

यो पनि पढ्नुहोस्

साउन २१, २०८० आइतबार १९:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।