सुन तस्करी प्रकरण : राजश्वले अनुसन्धानको सम्पूर्ण जिम्मा प्रहरीलाई सुम्पियो

सुन तस्करी प्रकरण : राजश्वले अनुसन्धानको सम्पूर्ण जिम्मा प्रहरीलाई सुम्पियो

काठमाडौं : सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको जिम्मा राजश्व अनुसन्धान विभागले प्रहरीलाई दिएको छ।

आइतबार पत्रकार सम्मेलन गरेर विभागले यस घटनाको थप छानबिन गर्ने सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी गरायो। विभागले पक्राउ परेका सबै आरोपिलाई पनि प्रहरीको जिम्मा लगाइने जनाएको छ। 

सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले घटनाको थप छानबिन र मुद्दा अभियोजनको लागि प्रहरीलाई जिम्मा लगाइएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। 

गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए। 

गत साउन ३ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार र सुरक्षा जाँच पास गरेर बाहिरीसकेको करिब एक क्विन्टल सुन समातेको थियो।

यसपछि हालसम्म यस विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो। मोटरसाइकलको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसहित १८ जना पक्राउ परिसकेका छन्।

साउन २१, २०८० आइतबार १७:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।