फेरि विवादमा केशव स्थापित, खुलमखुला भन्छन्, 'कफीमा गाँजा हालेर खान्छुु'

फेरि विवादमा केशव स्थापित, खुलमखुला भन्छन्, 'कफीमा गाँजा हालेर खान्छुु'

काठमाडौं : सार्वजनिक अभिव्यक्तिका कारण विवादमा आइरहने केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएदेखि सार्वजनिक मञ्चमा देखिएका छैनन्।

उनी यो बीचमा मिडियामा पनि आएनन्। गुप्तवासजस्तै भएका उनी शनिबार भने रोस्ट शो 'आम्मा कस्सम याँ दुख्छ' मा देखिए। 

बिक्की अग्रवालको यो दोस्रो सिजनको पहिलो एपिसोड थियो। 

कार्यक्रममा सञ्चालक विक्कीले भरमार रोस्टको प्रयास गरे, तर उनले हाँसेर टारे। आफ्नो स्वभाव छाडेनन्। गाँजा उत्पादन गरेर हरेक नेपालीलाई करोडपति बनाउने योजना सुनाएको सुनायै गरे। 

अब भने राजनीतिबाट उनको मोह भंग भएछ। अब राजनीति नगर्ने विचार गरेको बताए। त्यसो त उनले बेलाबखत राजनीति छोड्छु भनिरहन्छन्। तर चुनाव नजिक आएपछि पुनः तातिहाल्छन्। 

उनी निर्वाचित र मनोनित भएर दुई पटक काठमाडौँ महानगरपालिकाको मेयर भएका थिए। 

उनी बागमती प्रदेशबाट प्रदेश सांसद र मन्त्रीसमेत भएका थिए। मुख्यमन्त्रीसँगको विवादपछि उनले राजीनामा दिएका थिए। पछि एमालेबाट काठमाडौं महानगरको मेयरको उम्मेदवार बने र पराजित भए। 

नेपालको कानुनअनुसार गाँजाको उत्पादन र सेवन वर्जित छ। तर उनी टेलिभिजन कार्यक्रममै गाँजा उत्पादन र सेवन गर्ने स्विकार गरेका थिए। उनले आफूले कफीमा गाँजा राखेर खाने गरेको कार्यक्रममा बताएका थिए। 

नेपालको कानुनअनुसार उनी अनुसन्धान र प्रमाणित भए कारबाहीको दायरामा पर्छन्।

साउन २१, २०८० आइतबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।