सर्लाहीमा म्याजिक भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाहीमा म्याजिक भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाही : नयाँरोड बरहथवा सडकखण्डअन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका-९ सोल्टी मोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको ना१ज २८४९ नम्बरको म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको ना२०प ५१७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका-१, मङ्गलपुर बस्ने ३७ वर्षीय सुमन सहनीको मृत्यु भएको हो।

शनिबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि नमुना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

दुर्घटनामा मोटरसाइकल सवार सिरहा मिर्चैया नगरपालिका-१, बस्ने २७ वर्षीया चन्देश्वरी महरा गम्भीर घाइते भएकी छन्। उनको न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। 

मोटरसाइकलसँग ठोकिएको म्याजिक र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बरहथवाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। 

साउन २१, २०८० आइतबार १६:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।